• २०८१ पुष ६ गते शनिवार
  • Preeti To Unicode

स्वस्थानी व्रत कथा आजदेखि प्रारम्भ : स्वस्थानी व्रतमा के गर्ने के नगर्ने ?


इटहरी । आज पौष शुक्ल पूर्णिमा । आज (बिहीबार) देखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रूपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउँछिन् । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रूपमा कार्यरत छिन् । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ’–उनले भने । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला शुरु गरिँदै छ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भने । यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

स्वस्थानी व्रतमा के गर्ने के नगर्ने ?
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आज सुरु भएको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । स्वस्थानीको देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने विश्वास छ ।

एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रत एकदमै कठिन व्रत हो । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

व्रत बस्ने अघिल्लो दिनदेखि नै यसको तयारी सुरु हुन्छ । व्रत बस्ने महिलाले अघिल्लो दिनदेखि नै आफ्नो हातखुट्टाको नङ काटी स्नान गरेर आफूलाई शुद्ध राख्नुपर्छ । व्रत सुरु भएपछि व्रतालु महिलाले हरेक दिन स्नान गरेर स्वस्थानी माताको पूजा आरधना गर्नुपर्छ । हरेक दिन साँझ परिवार हुनेले समूहमा बसेर तथा नहुने एक्लै बसेर भएपनि स्वस्थानी व्रतकथा वाचन गर्नुपर्छ ।

काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा स्थानहरूमा व्रत अवधिभर मेला लाग्ने गर्दछ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव पति पाउँ भनि बसेकी यो व्रतमा हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नुपर्दछ ।

व्रतको सुरुवातदेखि नसकिँदा सम्म व्रतालुले पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नुपर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ । ब्रतालु पुरुष भएमा व्रत नसकिँदा सम्म रौं काट्न पनि हुँदैन । त्यसै दिन देखी एक महिना सम्म कसैसंग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्ध धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गएपछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु ब्रतका अनिवार्य नियमहरू हुन् ।

पूर्णिमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर ,गोमुत्र, दुध , दहि र घ्यू) का साथै तिल ,सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।

त्यसपछी त्यसै अभिशेकबाट ‘मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्तिहोस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गरी ब्रतको सुरुवात गर्नु पर्दछ ।

त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्यपछी मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ । दिप गणेश र कलशको पूजा सम्पन्न भैसकेपछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नुपर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानिमाताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माताको अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ ।

प्रत्येक दिन बिहान दिप, गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले गर्नुपर्दछ ।

पूजा पछी दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछः सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।

खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नूपर्दछ । पूजापछी आफूले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अघ्र्य दिनुपर्दछ । साँझको पूजापछी श्री स्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफैँ कथा वाचन गर्ने र आफैँ सुन्ने गर्नुपर्दछ । कथा वाचन आफूले गर्न नसके कुनै ब्राह्मणद्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनुहुँदैन ।

कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसकेपछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नुपर्दछ । कथापछी आरती गर्नुपर्दछ ।

आरतीपछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो । यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउँछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता सँगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ ।

यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्दछ ।

ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरिएको छ ।

यतिगरी सकेपछी श्री स्वस्थानी माताको प्रसादले ब्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार