काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज छाड्ने भएको छ ।कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।स्रोतले भन्यो, ‘काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं ।’
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।रास्वपा कोषाध्यक्ष दीपक बोहराले पनि सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए । प्रहरीले केहीबेरमा रविको स्वास्थ्य परीक्षण गरेर पार्टीको जिम्मा लगाउँदैछ ।
रवि लामिछानेले बुझाए ६५ लाखको बैंक ज्ञारेन्टी
कास्की जिल्ला अदालतले धरौटी मागेअनुसार रास्वपाका सभापति रवि लामिछानेले बैंक ज्ञारेन्टी बुझाएका छन् । उनले धरौटी माग भए बराबरको बैंक ज्ञारेन्टी अदालतमा पेस गरेको प्रहरी स्रोतले बताएको छ । रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।