• २०८१ माघ २८ गते सोमवार
  • Preeti To Unicode

लामिछानेले थाले धरौटी बुझाउने प्रक्रिया, फेरि पक्राउ गर्ने कि नगर्ने कानुनी परामर्शमा कास्की प्रहरी


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको थियो । कास्की जिल्ला प्रहरी स्रोतका अनुसार लामिछानेले धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । ‘उहाँले जिल्ला अदालतले मागेको धरौटी बुझाउने प्रक्रिया सुरु गर्नुभएको छ । हामीलाई धरौटी बुझाउने भनेर जानकारी आएको छ,’ प्रहरी स्रोतले भन्यो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग कास्की जिल्ला अदालतले धरौटी मागेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थियो ।

न्यायाधीश राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको थियो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।

न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरूका तर्फबाट कानुनी व्यवसायीहरूको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको थियो ।लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

लामिछानेलाई फेरि पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा कास्की प्रहरी
रास्वपा सभापति रवि लामिछानेलाई फेरि पक्राउ गरेर काठमाडौं पठाउने कि आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुन दिने भन्ने परामर्शमा कास्की प्रहरी जुटेको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्ने आदेश दिएसँगै अब के हुने भन्ने प्रश्न उठेको हो ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । कास्की प्रहरीको उच्च स्रोतका अनुसार कानुन व्यवसायीसँग परामर्श सुरु भएको छ ।

‘यहाँको जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरिसकेको छ । काठमाडौंमा पनि अभियोगपत्र दर्ता भएको छ । अब यहाँबाट पक्राउ गरेर काठमाडौंलाई बुझाउने कि पक्राउ नगरी आफैं अदालतमा उपस्थित हुन दिने भन्नेबारे कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौं,’ कास्की प्रहरीका उच्च अधिकारीले भने । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया भने सुरु गरिसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले धरौटी मागेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार