• २०८१ फाल्गुन ७ गते बुधवार
  • Preeti To Unicode

उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने सहमति


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ ।

नेपाली कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारी अनुसार उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको छ ।

‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ । त्यही पद मिलाउनेतिर सकारात्मक छलफल छ ।’

बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भएपनि राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ ।

जसपा नेपालले सरकारलाई गर्दै आएको दाबी गर्दै ती नेताले थपे, ‘संघ र प्रदेश कहीँ पनि सहभागी भएको छैन । विश्वासको मत दिएको दललाई सरकारमा ल्याउनुपर्छ भन्ने हो ।’

जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका थिए ।

बिहीबार बिहान अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितसँग छलफल गरेका थिए ।

उक्त छलफलमा उपेन्द्रले मधेशको मुख्यमन्त्री आफ्नो दलले पाउनेगरी अध्यादेशमा सहमति दिने शर्त अघि सारेका थिए ।

जसपा नेपालको संसदीय दलको बैठक जारी छ । सोही बैठकबाट छलफल गरेर अध्यादेशको समर्थनमा जाने निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार