• २०८१ जेष्ठ ६ गते आइतवार
  • Preeti To Unicode

वनएक्स बेट प्रकरणः कलाकार/युट्युबरमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप


काठमाडौं । गैरकानूनी अनलाइन जुवा (वनएक्स बेट) खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका ८ जना कलाकार युट्युबरमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । यसअघि बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको अनुमति दिएको थियाे ।

वनएक्स बेटकाे प्रचार गरेकाे आरोपमा कलाकार/युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) बिहीबार पक्राउ परेका थिए । उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।बेटिङ कारोबारमा थप संलग्नताबारे अनुसन्धान भइहेकाे काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

वनएक्स बेटमार्फत ६४ कराेडको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ । योसँगै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विभिन्न बेटिङ प्लेटफर्मको प्रचार गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् ।

पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा अनलाइन बेटिङको प्रचार तथा खेल खेलाउने कार्य भइरहेको देख्न सकिन्छ । यसअन्तर्गत वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ, फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लेटफर्म सक्रिय छन् ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस अघि शीर्षक र समाचार फरक पर्न गएकाले सच्याइएको छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दछौं ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार