• २०८१ बैशाख २१ गते शुक्रवार
  • Preeti To Unicode

बादल हटेपछि ईश्वर पोखरेललाई गृहमन्त्री बन्ने बाटो खुल्यो


सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी
सम्हाल्ने बाटो खुलेको छ।उपप्रधानमन्त्री पोखरेलले यसअघिदेखि नै गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका थिए।सर्वोच्च अदालतले गैर

सांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि बिहीबारदेखि नै बादलसहित पूर्व माओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् ।बिहीबारै भएको राष्ट्रियसभाको उप चुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, बिहीबारै भएको राष्ट्रियसभाको उप चुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।

पूर्व माओवादीका बरिष्ठ नेता रहेका बादल गृहमन्त्री पद जोगाउनकै लागि माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।

बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविक रुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमाले जनका लागि खाली भएका छन् ।

सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरू एकैचोटि खाली भएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार