• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

संसद् धेरै नचलाउने प्रधानमन्त्रीको सर्तपछि जसपा झस्कियो, ओलीको विकल्प खोज्न तयार


नयाँ गठबन्धनका लागि निर्णायक मानिए को संसद्को चौथो ठूलो दल जसपा प्रधानमन्त्री केपी ओली को विकल्प खोज्ने तर्फ उन्मुख भएको छ । ओली नेतृत्वको सरकारमा जाँदा तत्काल चुनावमा जानुपर्ने अवस्था आउने र प्रतिगमनकारी कदम चालेको व्यक्तिलाई सहयोग गरेको भनेर

भोट माग्न अप्ठेरो हुने बुझाइपछि जसपा ओलीको विकल्प खोज्नेतर्फ उन्मुख भएको हो । बिहीबार प्रधानमन्त्री ओलीले आफ्नो एउटा माग पूरा गरे जसपाका सबै माग सम्बोधन गर्ने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको जसपा नेतासँग प्रस्ताव थियो, ‘तपाईंहरूका सबै माग पूरा गर्न म तयार छु । चाहिएको मन्त्रालय पनि दिन्छु । सरकारमा सहभागी हुनुहोस् । तर, मेरो एउटा माग छ, यो संसद् धेरै नचलाउँ । चुनावतिर लागौँ ।’ प्रधानमन्त्री ओलीको यो प्रस्तावसँगै जसपाले समीकरणको नयाँ विकल्प सुरु गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकमा सहभागी एक नेताले ओलीसँगको सहकार्यले कसैलाई पनि फाइदा नहुने निष्कर्ष निस्केको र यस विषयमा कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेर थप निर्णय लिने योजना बनेको बताए । ‘ओलीको पक्षमा लाग्दा संसद् जोगिँदैन भन्ने निष्कर्ष निस्केको छ ।

ओली पक्षको सरकार रहे पनि एमालेभित्रको अर्को पक्षले उनको साथ छोड्ने सम्भावना धेरै छ,’ उनले भने, ‘ओलीको चाहना संसद् भंग गरेर चुनाव गराउने हो । हामी यो संसद्को कार्यकाल पूरा हुन दिनुपर्छ भन्ने पक्षमा छौँ । त्यसैले ओलीको पक्षमा होइन, त्यसभन्दा बाहिरबाटै समाधान खोजौँ भन्ने कोणबाट छलफल सुरु भएको छ ।’जसपा नेता तथा कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले राजनीतिक संकट समाधानका लागि अरू कोही तयार भए पनि नभए पनि वैकल्पिक शक्ति भएका हिसाबले आफैँ पनि तयार हुने विषयमा शुक्रबारको बैठकमा कुरा उठेको बताए । ‘हामी जुन ढंगले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरिरहेका छौँ त्यहीअनुसार विकल्पको नेतृत्वका लागि दाबी गरौँ भन्ने विषय पनि उठेको छ ।

बैठकमा बोल्ने धेरै साथीले अन्योल र संकट अरूले पार लगाउँदैनन्, हामी दाबी गरौँ भन्नुभयो,’ नेता यादवले भने, ‘यसले एउटा त सहमतीय राजनीतिको वातावरण बन्छ । अर्को संसद्मा चलिरहेको अंकगणितको खेललाई पनि रोक्छ ।’ जसपाका नेताहरूले कांग्रेससँग छलफल गरेर राजनीतिक संकट समाधानका लागि सहकार्य गर्न आग्रह गरेका थिए । सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठक सकिएलगत्तै जसपाका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ पुगेर संकट समाधानका लागि अग्रसरता लिन प्रस्ताव गरेका थिए ।

बुढानीलकण्ठ जानुअघि सिंहदरबारमा पार्टी संसदीय दलको बैठक सकाएर लामो अनौपचारिक छलफल गरेका थिए । अनौपचारिक छलफलमा ओली नेतृत्वको सरकारमा जान नहुने र सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने विकल्पमा अघि बढ्नुपर्ने विषय उठेको थियो । सिंहदरबारको बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेससँगको छलफलमा माओवादी केन्द्रसँग मिलेर ओलीको विकल्प खोज्ने प्रस्तावमा समेत छलफल भएको थियो ।

संसद्को गणपूरक संख्याको हिसाबले पनि कांग्रेसकै नेतृत्वमा अहिलेको संकट समाधानका लागि अघि बढ्नुपर्ने मत एक हुने वातावरण बनेको ती नेताले बताए । यदि कांग्रेस नेतृत्व गर्न तयार नभए आफूलाई सहयोग गर्न प्रस्ताव गर्ने योजना जसपाले बनाएको उनको दाबी छ ।

‘अहिलेलाई तपाईं नेतृत्व गर्नुहोस् पनि नभन्ने, हामी नै गर्छौँ पनि नभन्ने । यद्यपि, अबको दुई वर्ष सरकार हामी मिलेर चलाउँ भनेर प्रस्ताव राख्ने कुरा भएको छ,’ उनले भने, ‘तर, ओलीले चाहेजस्तो अहिले नै संसद् विघटनको बाटोमा जान नदिने भन्नेमा पार्टीभित्र एकमत छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार