• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माओवादी केन्द्र को दल दर्ता खारेज गर्ने निर्वाचन आयोगको संकेत


माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदन सम्बोधन गर्ने निर्वाचन आयोगले बताएको छ । एमालेमा गएका पूर्व माओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा बुधबार निवेदन दर्ता गरेका थिए ।सो निवेदन अनुसार उनीहरूको माग ठिक

छ वा छैन त्यसबारे आयोगले निचोड दिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।गत असार २३ गते माओवादी केन्द्रका पूर्व नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायतका नेताहरू निर्वाचन आयोग पुगेर माओवादी केन्द्र पार्टी नै अवैध रहेकोले खारेजीको माग गरेका थिए । साथै उनीहरूले अवैध पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सांसद पदबाट हटाउने कारबाही अवैध रहेको भन्दै आयोगमा उजुरी दिएका थिए ।

यसैबीच माओवादी केन्द्रका नेता देव गुरुङले माओवादी केन्द्रमा नरहेका व्यक्तिले दल दर्ताको खारेजीका लागि दिएको निवेदन दर्ता गर्नु नै आयोगको त्रुटिपूर्ण काम भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले पूर्व माओवादी नेताहरूले प्रोपोगान्डाको लागि त्यसो गरे पनि कानुनी रूपमा त्यसको औचित्य नभएको बताए ।

उनले भने–‘निर्वाचन आयोगले अहिलेसम्म चुनावमा सहभागी गराइरहेको पार्टी कसरी अवैध हुन्छ ? अनि अहिले आएर निर्वाचन आयोगले मान्यता नदिने भन्ने कुरा त हुँदैन । २०७४ सालमा भएको निर्वाचनमा मान्यता दिएको छ, त्यसपछि पनि मान्यता दिएको छ ।

अहिले अदालतले नै पुनर्स्थापना गरिदिएको छ । पत्राचारहरू भइरहेको छ, सबै काम भइरहेको छ ।’ उनले एमाले गएका ती नेताले काम नपाएर विरोधका लागि विरोध गर्ने काम गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार