• २०८१ बैशाख २१ गते शुक्रवार
  • Preeti To Unicode

फेसबुकमा नभएको अफवाह फैलिएपछि दयाहाङ राईको आपत्ति


काठमाडौं । फेसबुकमा आफ्नाबारे अफवाह फैलिएपछि अभिनेता दयाहाङ राईले आपत्ति जनाएका छन् । नायिका आँचल शर्माले अन्तर्वार्तामा बोलेको भन्दै ‘एनईबी रिजल्ट एन्ड अपडेट’ नामको फेसबुक पेजले एक सामग्री राखेपछि अभिनेता राईले आपत्ति जनाएका -हुन् ।

“अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” राई लेख्छन्, “आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्‍यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।”

उनले अगाडि लेखेका छन्, “त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।”

दयाहाङको पोस्ट शेयर गर्दै नायिका शर्माले आफूले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर सामाजिक सञ्जालमा गाली खाइरहेको गुनासाे गरेकी छन् ।

“यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु,” शर्मा लेख्छिन्, “जजसले जसको उक्साहटमा यो सब गरिरहनु भएको छ, तपाईँहरुको समय सकियो । म कानूनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्नुस् ।”

दयाहाङले खण्डन गरेपछि उक्त पेजले सो पोस्ट हटाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार