• २०८१ बैशाख २१ गते शुक्रवार
  • Preeti To Unicode

ढेँडु बुढाले भनेपछि विज्ञापन गरेको थिएँ : राजु मास्टर


काठमाडौं । युट्यूब च्यानलमार्फत सट्टेबाजी गराउने वेवसाइट वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार राजु मास्टर भनेर चिनिने राजु पौडेलले आफूलाई मासिक रुपमा राम्रो शुल्क आउँछ भनेपछि विज्ञापन गरेको बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अधिकारीहरुको रोहबरमा प्रहरीले लिएको बयानमा राजु मास्टरले ढेँडु बुढा भनेर चिनिएका सरोज घिमिरेले आफूलाई विज्ञापन राख्ने प्रस्ताव गरेको बताएका छन् ।

‘घिमिरेले मलाई तपाईंको युट्यूब च्यानलमा एउटा विज्ञापन बजाउनुपर्‍यो, त्यसवापत महिनाको १५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुन्छ भनेकाले मैले हुन्छ भनेको थिएँ’, पौडेलले भनेका छन्, ‘त्यसपछि उनले मलाई २० सेकेन्डको भिडियो पठाइदिएकाले मैले उक्त भिडियोलाई युट्युब च्यानलमा राखेको थिएँ ।’

भिडियो कसले हेरे आफूलाई थाहा नभएको भन्दै उनले आफूले हालसम्म कसैलाई अवैध सट्टेबाजी नखेलाएको र आफूले पनि नखेलेको बताएका छन् । पछि घिमिरेले पठाएको भिडियोलाई आफू समेतले तयार गरेर ‘हल्का रमाइलो’ र ‘जुठे’ नामक टेलिसिरियलको भिडियोको बीचमा बज्ने गरी विज्ञापनको भिडियो अपलोड गरेको उनले बताएका छन् ।

अवैध सट्टेबाजीसम्बन्धी वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका राजु मास्टरसहित ११ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । त्यसक्रममा पेश अभियोग पत्रमा राजु मास्टरले आफूले त्यसविज्ञापन वापत करिब ५५ हजार रुपैयाँ जति लाभ लिएको बताएका छन् ।

कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ ।

उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रोत्साहन दिएको कारण उनीहरुमाथि कैद सजाय र जरिवानको मागदावी लिइएको हो । प्रहरीले पक्राउ गरी मुद्दा चलाएका ११ जना प्रतिवादीमध्ये २८ वर्षीय दिनेश खड्का र २९ वर्षीय अनिता धिताललाई भने जनही ७ वर्ष कैद र चौसठ्ठी करोड चौरानब्बे लाख उनन्तीस हजार आठ सय बीस रुपैया बिगो मागदावी लिइएको छ । उनीहरुको मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार