• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बजारमा नक्कली ‘रेम्डेसिभिर’ को बिगबिगी : ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ २५ हजारसम्ममा बिक्री


कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सनको माग अहिले बजारमा बढेको छ।कोभिड विशेष
अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएपछि पूर्वी

नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।
मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने गरेको पाइएको छ । बिरामीको आफन्तलाई उनीहरुले रेम्डेसिभिर भन्दै बिक्री गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरीको विशेष टोली र मोरङ प्रहरीले नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने कार्यका संलग्न विराटनगर–४ नोबेल टिचिङि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ सञ्चालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेम्डेसिभिर इन्जेक्सन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा नक्कली रेम्डेसिभिरको विक्री वितरण हुने गरेको सूचना पाएपछि आवश्यक अनुसन्धानपछि फार्मेसीमा छापा मार्दा आवश्यक प्रमाणसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।‘नक्कली रेम्डेसिभिरको बिक्री वितरण हुने गरेको सूचनाको आधारमा केही फार्मेसीमा छापा मर्ने काम भयो,’ एसपी खड्काले भने, ‘हामीले प्रमाणसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ ।’ आवश्यक अनुसन्धानको काम जारी रहेकाले थप विषयका बारेमा पछि खुल्ने एसपी खड्काले बताए । पक्राउ परेका फार्मेसी सञ्चालक आलमले कति मूल्य नक्कली रेम्डेसिभिर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेम्डेसिभिर भन्दै चर्को मूल्य लिएर बिरामीका आफन्तलाई बिक्री गर्दै आएका छन् ।प्रहरी अधिकारीका अनुसार आलम यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडि औषधी पसल खोलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रग्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

स्टासेफ र रेम्डेसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नक्कली लेबल लगाएर रेम्डेसिभिर भन्दै उनीहरु बिक्रीमा सलग्न हुने गरेको देखिएको ती प्रहरी अधिकारीले बताए । यसरी अहिले विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेम्डेसिभिर चर्को मूल्य असुली गरेर विक्री गर्दछन् ।बिराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रका वरिष्ठ फिजिसियन डा दीपक सिग्देलले भारतमा पाइने रेम्डेसिभिर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको बताए । उनले केही लेबलमा फरक पर्ने भएपनि सर्बसाधारणले छुटाउन गाह्रो पर्ने भएकाले बिरामीको आफन्त ठगिने गरेको बताए ।

अस्पतालमा अत्यधिक माग
विराटनगरमा सञ्चालित विभिन्न कोभिड–१९ विशेष अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमितले रेम्डेसिभिर नामक औषधि पाउन छाडेका छन् । औषधि व्यवस्था विभागमार्फत केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध हुँदै आएको औषधि रोकिएपछि बिरामीहरुले हैरानी व्यहोर्नु परिरहेको छ ।विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सरकारले औषधि उपलब्ध नगराएपछि बिरामीका आफन्तले ब्ल्याकमा औषधी किन्नुपर्ने अवस्था छ । ब्ल्याकमा किन्दा बिरामीले प्रतिभाइल २० हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो गरेका छन् । उनले अस्पतालमा भर्ना भएका १ सय ४० जना बिरामी मध्ये २३ जना संक्रमितलाई नियमित रेम्डेसिभिर चलिरहेको छ ।

विराटनगरस्थित विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब ३३ जना बिरामीलाई नियमित रेम्डेसिभिर चलाइएको छ । तर, औषधि नपाउँदा समस्या भइरहेको उनीहरुले बताएका छन् । अस्पतालका एकजना चिकित्सकले भने ‘हामीले सप्लायर्ससँग औषधि मगाएका छौँ । तर, भारतमा पनि औषधिको उच्च माग भएका कारण उनीहरुले आपूर्ति गरिरहेका छैनन् ।’नेपाल सरकारले उपलब्ध गराउँदा बिरामीले प्रतिभाइल ५ हजार ३०० रुपैयाँमा उक्त औषधि खरिद गर्थे । अहिले सरकारले औषधि दिन छोडेकोले समस्या भएको ती चिकित्सकले बताए। चिकित्सकले कतिपय बिरामीलाई रेम्डेसिभिर सिफारिस गर्छन् त्यस्तो बेलामा बाध्य भएर बिरामीले ब्ल्याकमा औषधिको आपूर्ति गर्नुपर्छ ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले भने ‘रेम्डेसिभिर व्यवस्था गरिदिनका लागि बिरामीका आफन्तहरुले हामीलाई धेरै भन्नुहुन्छ तर, हामीले उपलब्ध गराउनसक्ने अवस्था छैन ।’ उनी भन्छन् ‘औषधि व्यवस्था विभागले अहिले औषधि पठाएको छैन र बजारमा किन्न नपाइने भएकोले बिरामीहरुले नै औषधि जुटाउने गरेका छन् ।’रेम्डेसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । ब्ल्याकमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ । नोबेल अस्पतालमा उपचाररत श्वासप्रश्वासमा समस्या भएका अधिकांश बिरामीहरुले रेम्डेसिभिर चलाउन माग गर्ने गरेका छन् ।कोशी कोभिड अस्पतालमा भने न्यून मात्र रेम्डेसिभिर चलाउने गरिएको छ । चिकित्सकले कसैलाई सिफारिस गरेको अवस्थामा औषधि जुटाउने जिम्मा बिरामीकै हुने अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

‘रेम्डेसिभिर’ तस्करी बढ्यो
‘रेम्डेसिभिर’ को माग उच्च भएपछि तस्करीको बाटो हुँदै ‘रेम्डेसिभिर’ पूर्वी नेपाल भित्रिन शुरु भएको छ । खरिद गरेकोभन्दा तीन गुणा बढी मूल्यमा नेपालमा ल्याएर ‘रेम्डेसिभिर’ इन्जेक्सनको कालोबजारी गरी बिक्री गर्ने भएकोले अहिले यसको तस्करी भारतदेखि अधिक हुने गरेको छ । त्यसका लागि ठूला औषधी व्यवसायी पनि सो कार्यमा संलग्न हुँदै आएका छन् ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । ८ मंसिरमा मोरङ प्रहरीले विराटनगर–१३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करीको औषधी बरामद गर्दा १० भाइल रेम्डेसिभिर इन्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि भएको थियो ।

प्रहरीले यादवको घरबाट तस्करी गरी ल्याएको रेमडिसिभरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेक्सन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको थियो । प्रहरीले त्यसबेला आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । तर, विभागका राजनैतिक दलका नेता र सांसदहरुले दबाब दिएपछि हाजिर जमानतमा तस्करलाई छोडिदिएको थियो ।

अहिले नेपालमा कम्पनी अनुसार फरक–फरक दुई खालका मूल्य भएको रेम्डेसिभिर इन्जेक्सन आउने गरेको छ । तस्करीको गिरोहसँग मिलेर रेम्डेसिभिर इन्जेक्सनसहित अन्य प्रतिबन्धित औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट नै यसअघि खुलेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार