नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद एमालेले यतिका सङ्ख्यामा पालिका जित्नु सामान्य विषय होइन ।
लामो समयदेखि एमालेप्रति मधेस सकारात्मक थिएन । मधेस आन्दोलनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो दलका नेताहरूले दिएका अभिव्यक्तिका कारण मधेसी जनता एमालेप्रति रुष्ट थिए । मधेसमा एक प्रकारले एमाले निषेध नै थियो । त्यो परिस्थितिलाई चिरेर एमालेले मधेस प्रदेशमा दोस्रो स्थान ल्याउन सफल भएको छ ।
आफूलाई मधेसको शक्तिशाली राजनीतिक दल भनेर दाबी गर्दै आएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालभन्दा पनि बढी सिट ल्याउन एमाले सफल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्मको नतिजा अनुसार जसपाले मधेसमा २४ र लोसपाले १४ वटा पालिकामात्र जित्न सकेका छन् । जबकि एमालेले हालसम्म २९ वटा पालिकाको नेतृत्व हात पारिसकेको छ । यता, मधेसमा माओवादी केन्द्रभन्दा एमाले धेरै अगाडि छ । माओवादी केन्द्रले हालसम्म नौवटा पालिका मात्र जित्न सकेको छ ।
मधेस आन्दोलनको केन्द्रभूमि सिरहामै एमालेले सबैभन्दा बढी पालिका जितेको छ । सिरहा जसपाको गढ मानिन्छ । तर एमालेले सिरहामा जसपालाई उछिनेको छ । जसपाले सिरहाका चारवटा पालिका जित्दा एमालेले ६ वटा नगरपालिका प्रमुख र ३ वटा गाउँपालिका अध्यक्ष पद हात पारेको छ । लोसपाले सिरहामा वडा सदस्यसमेत जितेको छैन । एमालेको सप्तरीमा एक प्रमुख र दुई अध्यक्ष, धनुषामा दुई प्रमुख र एक अध्यक्ष तथा महोत्तरी, सर्लाही, बारा र पर्सामा एक–एक प्रमुख हात पारेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा पालैपालो जसपा र लोसपा दुवै सहभागी भए । ती दल सरकारमा सहभागीमात्र भएनन्, एमालेलाई मधेसमा ‘स्पेश’ पनि बनाइदिए ।
मधेस मामिलाका जानकार चन्द्रकिशोर भन्छन्, ‘मधेसमा एमाले शक्तिशाली हुनुको तीन कारण छन् । पहिलो कारण टिकटका लागि एमालेमा कुनै विवाद भएन । त्यसकारण चुनावमा पार्टीभित्र कहीँ कतै कुनै अन्तरघात भएन । दोस्रो, अरू दलको तुलनामा एमालेले शक्तिशाली तथा जनाधार भएका उम्मेदवार चयन गर्यो र तेस्रो कारण मधेसको मुद्दा हो ।’
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा पालैपालो जसपा र लोसपा दुवै सहभागी भए । ती दल सरकारमा सहभागीमात्र भएनन्, एमालेलाई मधेसमा ‘स्पेश’ पनि बनाइदिए । सरकारबाट बाहिरिनुभन्दा केही महिना अघि तत्कालीन प्रधानमन्त्री ओली मधेसको मुद्दाप्रति अन्य दलभन्दा सकारात्मक देखिए । संविधान संशोधनदेखि लिएर नागरिकता तथा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, मधेस तथा थरूहट आन्दोलनका क्रममा थुनामा रहेकालाई रिहा गर्ने भूमिकामा ओली सकारात्मक रहे ।
ती कार्यलाई एमालेका नेताहरूले चुनावका क्रममा मधेसमा निकै भजाए । यतिमात्र होइन, लोसपाका नेताहरूले पनि एमालेका बारेमा मधेसमा लामो समयदेखि विद्यमान आक्रोशलाई साम्य पार्ने भूमिका निर्वाह गरे । चुनावको समयमा लोसपा नेपालका नेताहरूले मधेसको माग पुरा गराउन आफूहरूले पहल गरेको र त्यसका एमालेको साथ रहेको भन्दै सो दललाई धन्यवाद दिने काम पनि गरे । त्यसले एमालेका लागि ‘प्लस प्वाइन्ट’ बन्दै गयो ।
एमालेका अध्यक्ष ओलीमात्र होइन, सो दलका हरेक नेताले मधेसको मुद्दा एमालेले हल गर्न खोजेको तर काँग्रेस, माओवादी केन्द्र, जसपाले विवाद खडा गरेर ती माग पुरा हुन नदिएको भनी प्रचार गरे । त्यसले मधेसी जनतालाई निकै प्रभावित पार्यो ।
एमालेबाट माधव कुमार नेपाल नेतृत्वमा एउटा समूह अलग भएपछि एमाले मधेसमा साँच्चै कमजोर भएको थियो । हरेक जिल्लामा एमाले प्रायः खाली नै थियो । त्यतिबेला एमालेलाई उम्मेदवार पाउन पनि गाह्रो थियो । तर जब गठबन्धन बन्यो र काँग्रेस, माओवादी केन्द्र, जसपाका कतिपय नेताले टिकट पाउने सम्भावना देखेनन्, उनीहरू एमालेमा प्रवेश गरे । अन्य दलबाट टिकट नपाउने भएपछि एमालेमा प्रवेश गरेका प्रायः सबैले एमालेबाट टिकट पाए । नतिजा पनि सकारात्मक आयो ।
‘मधेसमा संरक्षकको खोजी थियो । मधेसवादी दलले मधेसलाई संरक्षण दिन सकेनन्,’ चन्द्रकिशोर भन्छन्, ‘मधेसवादी दलले मधेसका लागि मुद्दा र एजेण्डामात्र सिर्जना गरे तर मधेसी जनतालाई संरक्षण गर्न सकेनन् । मधेसी जनता संरक्षक खोज्दै जाँदा एमालेलाई पाए र त्यसले गर्दा एमालेप्रति आकर्षण बढ्यो ।’
एमाले प्रतिपक्ष भए पनि देशको सबभन्दा ठूलो दल रहेको र, राज्यमा उसको पहुँच अन्य कुनै दलभन्दा कम नरहेको उनले बताए । ‘तीन वर्ष सत्ता सञ्चालन गरेपछि देशका हरेक शक्ति केन्द्रमा एमालेले आफ्नो पहुँच बनायो र, सोही शक्ति केन्द्रका आधारमा मधेसी जनतालाई संरक्षण दिने वचन एमालेले दियो,’ उनले भने, ‘ब्युरोक्रेट्सदेखि व्यापारी, बुद्धिजीवीलगायत अन्य क्षेत्रका व्यक्तिको आकर्षण पनि एमालेप्रति बढ्यो ।’
मधेसमा माओवादी केन्द्रका नेताद्वय गिरिराजमणी पोखरेल र मातृका यादवबीचको विवादका कारण सो पार्टीका धेरै नेता पार्टी छाडेर एमालेमा गए ।
काँग्रेस, माओवादी केन्द्रको तुलनामा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई बढी संरक्षण दिने गरेको उनको बुझाइ छ । मधेसमा संरक्षण र संरक्षित फ्याक्टरले धेरै ठूलो काम गरेको उनी बताउँछन् । उनले भने, ‘राज्यबाट त्रसित व्यक्ति एमालेमा गएका छन् र ती सबैलाई एमालेले संरक्षण दिइरहेको छ ।’
जसपाका केन्द्रीय सदस्य समेत रहेका मधेस मामिलाका विश्लेषक रामरिझन यादव जसपा, लोसपा, माओवादी केन्द्रभित्रको आन्तरिक विवादका कारण एमाले मधेसमा बलियो भएको बताउँछन् । जसपा र लोसपा नेपाली राजनीतिमा उदाएसँगै सत्तालाई प्राथमिकतामा राखेको उनको भनाइ छ । सत्तालाई ती दलले जनताको हितभन्दा व्यक्तिगत हितमा प्रयोग गरेका कारण ती दलहरू मधेसमा कमजोर हुँदै गएको र पछिल्लो समय त्यसको फाइदा एमालेले लिएको उनले प्रस्ट पारे ।
मधेसमा माओवादी केन्द्रका नेताद्वय गिरिराजमणी पोखरेल र मातृका यादवबीचको विवादका कारण सो पार्टीका धेरै नेता पार्टी छाडेर एमालेमा गए । एमालेमा नगएका नेताहरु पनि असन्तुष्टिका कारण आआफ्नो उम्मेदवारलाई हराउन खुलेर लागे र त्यसको फाइदा एमालेले लियो । सिरहामा एमाले बलियो देखिनुको पछाडि जसपाभित्रको अन्तरविरोध पनि मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।
जसपाको अन्तर्विरोधका कारण पार्टीकै नेताहरूले आआफ्नो उम्मेदवारलाई हराउने र एमालेलाई सहयोग गर्ने कार्य गरेको जसपा नेपालका नेता रामरिझन यादवको दाबी छ । अर्कोतिर माधव कुमार नेपाल एमालेबाट अलग भए पनि उनले एमालेको संगठनलाई भत्काउन सकेनन् । मधेसमै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुरुमा बलियो देखिए पनि त्यसलाई चुनावसम्म जोगाउन सकेनन् । चुनावको मिति घोषणा भइसकेपछि मधेसकै लागि मात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति मेहनत गरे, त्यति मेहनत मधेसवादी दलका नेताहरूले पनि गरेनन् । त्यसैको परिणाम स्वरुप मधेसमा एमालेले राम्रो नतिजा ल्याउन सफल भएको जानकारहरू बताउँछन् ।