इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलको एउटै घरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको चुनाव प्रचार प्रसार कार्यालयको फ्लेक्स बोर्ड राखिएको छ । लामो समय एउटै राजनीतिक दलमा संगठित भएर अलग्गिएका उनीहरुको कार्यालय एउटै घरमा भए पनि उनीहरु एक अर्कालाई कसरी पराजित गर्ने भन्ने रणनीति बुनिरहेका छन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १० वटा वडामा विजयी बनेको नेकपा एमाले यस पटक सोही वर्चश्व रक्षाका लागि लडिरहेको छ । तर ०७४ सालको निर्वाचनमा सग्लो रहेको एमाले अहिले विभाजित भइसकेको छ । यतिमात्र होइन, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र पनि भएकाले यो पालिकामा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोज्नेको संख्या पनि उल्लेख्य छ ।
एमालेबाट जितेका नगर प्रमुख रणबहादुर राई (आरबी राई)सहित ९ वडाध्यक्ष, ४ जना कार्यपालिका सदस्यसहित ८० प्रतिशत जनप्रतिनिधि एमाले विभाजन बनेपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनै आरबी राईलाई अहिले गठबन्धन दलको तर्फबाट प्रमुख पदमा उम्मेदवार बनाइएको छ भने एमालेले सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित बनेका काजीमान कागतेलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।
कागते स्थानीयस्तरमा लोकप्रिय छन् । यद्यपि उनको शैक्षिक योग्यताको कारण धेरै बुद्धिजीवीले उनलाई सहज ठानिरहेका छैनन् । यता, गठबन्धनबाट उम्मेदवार बनेका आरबी राई बुद्धिजीवी सर्कलमा राम्रो पहिचान बनाएका भए पनि शासन शैली हुकुमी खालको भएको भन्दै केही सर्वसाधारण रुष्ट छन् ।