• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

फेरियो कुलमानको बोली : उद्योगहरूमा १२ घण्टासम्म विद्युत् कटौती


एक सातायता उद्योगहरूमा १२ घण्टासम्म विद्युत् कटौती गरेको आरोप उद्योगी/व्यवसायीहरूले लगाइरहँदा नेपाल विद्युत् प्राधिकरणले ‘लोडसेडिङ’ नभएको दाबी गरेको छ । उद्योगी/व्यवसायीले प्राधिकरणमाथि विद्युत् प्रवाहमा भेदभाव गरेको आरोप समेत लगाएका छन् । तर, प्राधिकरणले भारतबाट महँगो दरमा किनेरै भए पनि उद्योगमा विद्युत् आपूर्तिमा कमी हुन नदिइएको दाबी गरेको हो ।

प्राधिकरण र व्यवसायीबीच बिजुलीलाई लिएर पछिल्लो सातायता जुहारी नै चलेको छ । उद्योगी/व्यवसायीहरूको छाता संस्थामध्ये एक नेपाल उद्योग वाणिज्य महासंघका औपचारिक कार्यक्रममै हाल उद्योगहरूमा १२ घण्टा लामो लोडसेडिङ भएको बताएको छ । विशेषगरी देशको पूर्वमा रहेका उद्योगहरूले लोडसेडिङ मार खेपिरहेको महासंघको दाबी छ । डटकमले केही दिनअघि विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि त्यहाँका उद्योगीहरूले प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको बताए । मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक लगायतबाट आफूहरूले उद्योगको क्षमता बढाउन सुझाव पाएको, तर साबिक क्षमतामै उद्योग सञ्चालन गर्ने बिजुली पनि अहिले नदिइएको दाबी गरेका छन् । तर, रातोपाटीसँग कुरा गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले लोडसेडिङ भएको स्थान आफूलाई देखाइदिन, नत्र अनावश्यक आरोप नलगाउन उद्योग/व्यवसायीलाई चेतावनी नै दिएका छन् ।

कोरोना र तरलता संकटपछि लोडसेडिङको कहर : महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार (चैत १७ गते) दरबारमार्ग महोत्सवबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले कोरोना महामारी र तरलता संकटपछि निजी क्षेत्रले अहिले ऊर्जा समस्या भोगिरहेको दाबी गरे ।प्राधिकरणले अहिले उद्योग क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ गर्दा नेपालको उद्योग व्यवसाय क्षेत्र एकदमै खस्केको उनको भनाइ थियो । उद्योगीहरू कोरोनाबाट अलिअलि तङ्ग्रिँदै गर्दा तरलता समस्या थपिएको र हाल ऊर्जा समस्या निम्तिएको उनले बताएका थिए । गोल्छाले बिजुली नभए उद्योग नचल्ने र उद्योग नचले अर्थतन्त्र नै नचल्ने पनि बताए । उद्योगले उत्पादन गर्न नसक्दा राजस्व र रोजगारी लगायत क्षेत्रमा पनि समस्या निम्तिने उनको भनाइ थियो ।

अब ऊर्जा समस्या हुँदैन, उद्योग/व्यवसाय सञ्चालन गर्न थप विद्युत् आपूर्ति हुन्छ भन्ने अपेक्षा गरेका थियौँ, सरकारले पनि अब नेपालमा ऊर्जा अभाव नहुने न्यारेटिभ नै स्थापित गरेको थियो । तर, एकैचोटी १२ घण्टे लोडसेडिङ ब्यहोर्नुपर्दा हामी निकै निराश भएका छौँ,’ गोल्छाले भनेका थिए, ‘प्राधिकरणका कार्यकारी निर्देशकलाई भेट्दा पनि हामीले बरु पीक टाइममा हामी उद्योग चलाउँदैनौँ, तर एकैपटक १२ घण्टासम्म लोडसेडिङ गर्दा हामीलाई ठूलो समस्या पर्‍यो भनेका थियौँ । लोडसेडिङ हुँदा अर्को ठूलो समस्या उद्योगले झेलेको छ ।’अध्यक्ष गोल्छाले लोडसेडिङ अन्त्य गर्नमात्रै आग्रह गरेनन्, भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म लागत ब्यहोरेर बिजुली आपूर्ति गरिरहेको प्राधिकरणले सो बिजुली उद्योगीलाई अनुदानमै उपलब्ध गराउनुपर्ने तर्क पनि राखे । उनले थपे, ‘प्राधिकरणले ७/८ रुपैयाँ प्रतियुनिटमा किन्ने गरेको बिजुलीको मूल्य निकै बढेको छ । समस्या निम्तिन नदिन राज्यले अनुदान दिएर भए पनि उद्योगलाई बिजुली दिनुपर्छ । यो समस्या १५ दिन या १ महिनासम्म लम्बिएला । पानी परेपछि हामीकहाँ बिजुली उत्पादन पनि बढ्छ । मूल्यवृद्धि पनि घट्ने प्रक्षेपण गरिएको छ । तर, यो समयको लागि प्राधिकरणले गर्न सक्दैन भने राज्यले गर्नुपर्छ ।

कुलमानको बोली फेरियो : शारडा
मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले पनि पूर्वका उद्योगहरूमा बिजुली एक्कासि काटिएको बताएका छन् । उनले ऊर्जामन्त्री, अर्थमन्त्री र विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक लगायत सरकारी पदाधिकारीहरूले उप्रान्त बिजुलीको समस्या नहुने भन्दै उद्योगको क्षमता विस्तार गर्न भनेको, तर अहिले नदिएको बताए । ‘त्यतिखेर अर्थमन्त्रीले हामीसँग धेरै विद्युत् छ, खपत गर्न त्यसखालका उद्योग ल्याउनुपर्‍यो भन्नुभयो, देशलाई आत्मनिर्भर बनाउनुपर्छ, कति बिजुली चाहिन्छ भनेर सोध्नुभयो,’ रातोपाटीसँग कुरा गर्दै शारडाले भने, ‘कुलमान घिसिङ पनि आउनुभयो । विराटनगरका तीनवटै उद्योगीहरूको संगठन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परिसंघलाई बोलाएर तपाईंलाई कति बिजुली चाहिन्छ ? म दिन्छु भन्नुभयो । तर, अहिले भन्दै हुनुहुन्छ कि बिजुली छैन । एक्कासि बिजुली कसरी गयो ?’

सरकारको ७५ प्रतिशत पूँजीगत खर्च गर्ने समय शुरू भएको, आफूहरूले गर्ने उत्पादन पनि पूँजीगत खर्च बढेकै बेला बेच्नुपर्ने, तर यही समयमा लोडसेडिङ हुँदा अब उद्योगले उत्पादन कसरी गर्ने भनी शारडाले प्रतिप्रश्न गरे । विराटनगरका उद्योगी तथा ऊर्जासम्बन्धी जानकार राकेश सुरानाले पनि विगत ६ दिनयता लगातार सबै फिडरमा १२ घण्टा ११ केभिएको लाइन काटिएको बताएका छन् । ‘उद्योगहरूमा लोडसेडिङ अहिले पनि गरिरहेको छ । १२ घण्टा लोडसेडिङ छ । ६ दिनयता बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म ६ दिनयता लोडसेडिङ गरिएको छ । लोडसेडिङ नभएको भन्ने प्राधिकरणको जिकिर फाल्तु हो, विराटनगरमा ११ केभिए लाइन जडान भएका सबै उद्योगमा १२ घण्टा लोडसेडिङ भएको छ, मेरो साथमा हिँड्नुहोस् उद्योग उद्योगमा कहाँ रहेछ लोडसेडिङ म देखाइदिन्छु ।’

लोडसेडिङ छैन, मागेकै भरमा बिजुलीमा अनुदान पाइँदैन : प्राधिकरण प्रवक्ता
उद्योगी/व्यवसायीहरूले उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ भएको बताइरहँदा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले सिस्टममा कुनै बेला समस्या निम्तिएको बेलाबाहेक कतै विद्युत् कटौती नभएको दाबी गरे । हाल प्राधिकरणले १५०० मेगावाट लोड पठाइरहेको उनले जानकारी दिए ।

‘राति पनि ११०० मेगावाटसम्म विद्युत् प्रणालीमा पठाएका छौँ, उद्योगसमेत चलाउँदा यति बिजुली खपत हुने हो । गार्हस्थ्य खपतका लागि यति बिजुली चाहिँदैन,’ रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने, ‘अहिले पूर्वका उद्योगमा लोडसेडिङ भएको भन्ने कुरा आयो, तर हामीले भारतबाट महँगोमा किनेको १९० मेगावाट बिजुली पूर्वमै पठाएका छौँ, काबेली करिडोरबाट ५०, ढल्केबरबाट ३० र अपुग हुँदा थप २५ मेगावाटसम्म बिजुली पूर्वमै केन्द्रित गराएका छौँ ।’

प्राधिकरणले लोडसेडिङ गरेको आरोप उद्योगीहरूले नभई व्यापारीहरूले लगाएको र उनीहरूले उद्योगीको प्रतिनिधित्व नगर्ने पनि भट्टराईले तर्क गरे । उनले थपे, ‘स्यूचाटार सबस्टेशनमा जाऔँ, कहाँ कति बिजुली माग हुन्छ र कति आपूर्ति भइरहेको छ भन्ने म देखाइदिन्छु । लोडसेडिङ गरिएको आरोप लगाएकाहरूले पनि त्यस्तो ठाउँ हामीलाई देखाइदिनुपर्‍यो ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार