लामोसमयको प्रतिक्षापछि शनिवारदिउँसो एकबजे जयनगरबाट कुर्थाको लागि हिडेको रेलहेर्न जनकपुर स्टेशनमा मानवसागर नै ओर्लिएकोछ।नेपाल र भारतका प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीले नेपालीसमय दिउसो एकबजे हरियो झण्डा देखाएपछि जयनगरबाट कुर्थाको लागि रेल हिँडेको भिडियो देखेपछि सर्वधारण स्टेशनतिर लागेका थिए जनकपुरको
कुनाकाप्चाबाट आएका विद्यार्थी, महिला, बालबालिका सबै अहिले रेल्वे स्टेशनमै जम्मा भएका छन् । एकैपटक धेरै मानिस स्टेशनमा जम्मा भएपछि स्थानीय सुरक्षाकर्मीलाई समेत उनीहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी उनीहरु कोचिएर भएपनि रेल स्टेशनमै उभिएका छन् । स्टेशनमा उभिएका सबैको ध्यान पूर्व दिशामै छ । किनभने रेल पूर्व दिशाबाट नै जनकपुरमा भित्रिनेछ । जनकपुरकी सकुन्तालादेवी साहले दिउँसो एक बजे देखीनै गाउँलेहरुको साथमा स्टेशनमा बसेको बताइन् ।रेल स्टेशनमा आएको देखेपछि मात्र घर फर्किन्छु,’ उनले भनिन, ‘रेल नहेरी घर फर्किदै फर्किन्न ।’ दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेल हेर्न छाडेर कसरी घर जाने ? कतिखेर रेल आउँछ भन्दै अनेक व्यक्तिसँग उनले प्रश्न गर्दै थिइन् । उनीजस्तै धेरै महिलाहरु गर्मीको कुनै प्रवाह नगरी रेल हेर्ने प्रतिक्षामा बसिरहेको बताए । गर्मीले सबैको शरीरबाट पसिना बगिरहेपनि उनीहरुले आफ्नो स्थान छोडेका छैनन् ।
एकातिर सर्वसाधारणको भीड स्टेशनमा छ भने अर्कोतिर आमन्त्रित अतिथि, मन्त्री, मुख्यमन्त्रीको स्वागतमा कुनै कमी नहोस् भन्दै रेल कम्पनीका कर्मचारीलाई पुरै तनाव छ । उनीहरु मध्यान्ह १२ बजेदेखी नै पुरै व्यस्त देखिएका छन् ।
जयनगरबाट छुटेको रेलमै चढेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निमित्त सचिव केशवकुमार शर्मा, मधेश प्रदेशका प्रमुख कृष्णबहादुर राउत, काठमाण्डौंस्थित भारतीय दूतावासका प्रथम सेक्रेटरी करुण वंशल, भारतीय दूतावास बीरगंजका काउन्सील जेनरल नितेशकुमार लगायतका अतिथि कुर्था पुग्ने कार्यक्रम छ ।
कुर्थाबाट पुनः जनकपुर रेल फर्किएपछि मात्र जनकपुर स्टेशनमा औपचारिक कार्यक्रम सुरु हुने नेपाल रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिए । यसअघि नै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा, अर्थ मन्त्रालयका उपसचिव गगन बहादुर बिके, रेल विभागका ईन्जिनियर विनोद ओझा सहितको टोली भारतिय अधिकारीहरुको स्वागतमा शनिवार बिहानै जयनगर प्रस्थान गरेको नेपाल रेल्वे कम्पनीका प्रशासकीय अधिकृत तुलाबहादुर डाँगी जानकारी दिए ।
मन्त्री, मुख्यमन्त्री सहितका अतिथिहरु पनि अहिले रेलकै प्रतिक्षमा छन् ।नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा दिल्लीको हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जयनगरबाट रेल गुडेको थियो ।