• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने


काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत
ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइराला बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित

आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने जानकारी गराएका थिए । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् ।देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।यसअघि मंगलबार बिहानै प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । सिंह र निधिको समर्थनले दोस्रो चरणमा देउवा बलियो बन्न पुगेका छन् ।१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् ।

कमीकमजोरी सच्याउँछु भनेकाले देउवालाई समर्थन दिने निर्णय गरेँ : सिंह
पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् । उनीहरुबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको हो । भेटपछि सिंहले पत्रकारहरूसँगको कुराकानीमा देउवालाई आफ्नो समर्थन रहने बताएका हुन् ।देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । समर्थनबारे जानकारी दिँदै उनले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’

महाधिवेशन प्रतिनिधिको मतलाई अगाडि बढाउने र पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा देउवा सहमत भएकाले आफूले समर्थन गरेको सिंहको भनाइ छ ।यसअघि उम्मेदवारी घोषणा गर्दै सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका थिए ।सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार