प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ। कानुन व्यवसायीहरु सर्वोच्च
अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन
व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यवासायीहरुबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएका ।पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् ।
कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको हो । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो ।तर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने झडप नभएको र कसैलाई पनि पक्राउ नगरेको अनलाइनखबरलाई बताए ।
अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् ।त्यहाँ १२ बजेसम्म धर्नामा बस्ने उनीहरुले बताएका छन् । त्यसपछि बार एशोसिएसनको कार्यालय परिसरमा विरोधका कार्यक्रमहरु हुनेछ ।
आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।
प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।
उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।