• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बागमती प्रदेशका नयाँ मन्त्री : शाक्य सरकारका विद्रोहीदेखि पूर्व लडाकुसम्म


बागमतीप्रदेशमा अन्ततः सरकार परिवर्तन भएको छ।अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया
आरम्भ भएको छ । गठबन्धनबीच भएको सहमतिअनुसार तत्काल मुख्यमन्त्रीसहित मन्त्रिपरिषदको सदस्य संख्या ४ रहने छ । जसअनुसार बिहीबार काँग्रेसका कृष्णलाल भँडेल, नेकपा

एकीकृत समाजवादीका कृष्ण खनाल र माओवादी केन्द्रका कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।
कृष्णलाल भँडेल
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा जन्मेका कृष्णलाल भँडेल हाल नेपाली काँग्रेसको भक्तपुर जिल्लाको पार्टी सदस्य छन् । बाबु मंगललाल भडेल र आमा सेतीमाया भँडेलको कोखबाट जन्मेका उनी २०३६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा छन् ।भक्तपुर निर्वाचन–१ (क) बाट प्रदेशसभाको सदस्य बनेका उनी २०४८ सालमा वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । तर, उपनिर्वाचनमा उनले तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गर्दै प्रदेशसभामा इन्ट्री पाएका थिए ।

कृष्ण खनाल
बाबु मधुभक्त खनाल र आमा सावित्री खनालको सन्तानको रुपमा २०१८ सालमा जन्मेका कृष्ण खनाल यसअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनिसकेका छन् । उनी २०७८ भदौ २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री नियुक्त भइ १५ दिन जिम्मेवारी सम्हालेका थिए ।चितवनको निर्वाचन क्षेत्र नम्बर–१ (ख) बाट प्रदेशसभा सदस्य रहेका खनाल २०३४ सालबाट कोअर्डिनेशन केन्द्रबाट राजनीतिमा आएका हुन् । २०३५ सालमा कोअर्डिनेशन केन्द्र मालेमा परिणत भएसँगै उनले त्यसै पार्टीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाए । २०४७ सालसम्म उनले मालेमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनी २०४७ मा एमालेमा आवद्ध भए ।

२०६५ सालमा एमालेको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका खनाल २०७१ सालमा केन्द्रीय सदस्य र चितवन जिल्ला इञ्चार्ज बने । नेकपा एमाले विभाजन ताका भने एमालेको केन्द्रीय सदस्य रहेका उनी बागमती प्रदेशको मन्त्री बनेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादीको आधिकारिकता पाएलगत्तै अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारमा मन्त्री रहेका उनी विद्रोह गरेर नेपालको पार्टीतिर लागेका थिए । शाक्य सरकारका सामाजिक विकास मन्त्री उनी छाडेर माधव नेपालतिर लागेका हुन् । उनी हाल एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य छन् ।

कुमारी मोक्तान
द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध रहेकी कुमारी मोक्तानको जन्म २०३६ सालमा भएको हो । मकवानपुरको तत्कालीन पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ मा बाबु सानुकान्छा मोक्तान र आमा तिर्थमायाबाट जन्मेकी उनी मकवानपुरको निर्वाचन क्षेत्र–२ (क) बाट २०७४ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।उनी पहिलो संविधानसभा सदस्य पनि हुन् । उनी २०६४ सालमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–४ बाट माओवादी केन्द्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । २०५० सालबाट राजनीतिमा होमिएकी उनी २०५५ सालमा जिल्ला सदस्य बनिन् । २०५६ महिलातर्फको केन्द्रीय सदस्य रहेकी मोक्तान सोही समयमा महिलातर्फको जिल्ला अध्यक्ष पनि थिइन् ।

सशस्त्र द्वन्द्वका क्रममा ०५७ सालमा उनले एक वर्ष जेल जीवन बिताएकी छन् । २०५८ मा उनी माओवादीको ईलाका इन्चार्ज बनिन् । २०५९ मकवानपुर जिल्ला सचिवको जिम्मेवारी प्राप्त गरेकी उनले २०६० सालमा पार्टीको जनसरोकार प्रमुख, २०६१ प्रादेशिक जनसरोकार उपप्रमुख र २०६१ मा क्षेत्रीय ब्युरो सदस्यमा रहेर काम गरिन् ।२०६२ मा पार्टीको केन्द्रीय सदस्य रहेकी उनी २०६३ मा अन्तरिम विधायिकाको जिम्मेवारीमा रहिन् । त्यसयता माओवादी पार्टीको केन्द्रीय सदस्य र मकवानपुर इञ्चार्ज रहेकी मोक्तान बागमती प्रदेशमा तत्कालीन नेकपाको सरकारमा मन्त्री बन्ने चर्चा चलेको थियो तर, सो समयमा उनलाई पार्टीले मन्त्रीको जिम्मेवारी दिएन । आज मन्त्री बन्न लागेका तीनै जना प्रदेशसभामा संसदीय दलको उपनेताको भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार