सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक ह’त्या’काण्ड मा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ।सोमबार
सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका
आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो । आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग हत्या गरी लुटपाट गर्नेसम्मको योजना रहेको पाइएको छ । प्रहरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’
भन्दै झगडा गर्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ ।
हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए ।
तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।