• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले विभाजनमा प्रमुख निर्वाचन आयुक्तको ठूलो भूमिका छ : झाँक्री


काठमाडौँ नेकपा (एमाले) विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेता एवं सांसद रामकुमारी झाँक्रीले अहिलेको अवस्था आउनुमा प्रमुख
निर्वाचन आयुक्त दिनेशकुमार थपलिया को ठूलो भूमिका रहेको आरोप लगाएकी छन् । एकीकृत समाजवादी को पक्षमा खुलेर निर्वाचन आयोगमा नै पुगेका सांसदहरू झलनाथ खनाल

सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट र केही केन्द्रीय सदस्यलाई सनाखत गर्न आयोगले अस्वीकार गरेपछि बुधबार झाँक्रीले उक्त आरोप लगाएकी हुन् ।पार्टी विभाजन गरेर यो ठाउँमा आइपुग्नका लागि प्रमुख आयुक्तको धेरै ठूलो भूमिका छ,’ झाँक्रीले भनिन् । तत्कालीन नेकपाभित्रको विवाद चर्किएको अवस्थामा २०७७ पुस महिनामा बहुमत पक्षलाई आयोगले आधिकारिकता दिन अस्वीकार गरेको थियो । ‘गत पुसमा आयोगले निर्णय नगर्नाले आजको अवस्था आएको हो,’ उनले भनिन् ।प्रमुख निर्वाचन आयुक्त थपलियाको उक्त भूमिका बिर्सने अवस्था आफूहरू रहेपनि अहिले आयोगले सम्झाएको झाँक्रीको भनाइ थियो । ‘प्रमुख निर्वाचन आयुक्तको त्यो भूमिकालाई बिर्सिने अवस्थामा थियौं । उहाँले एमालेका २ सय ३ जना केन्द्रीय सदस्य र १ सय ५४ जना संघीय सांसदहरूको सूचीबाट नेकपा (एकीकृत समाजवादी)मा रहन चाहन्छौं भन्नेलाई छनोट गर्न दिनुपर्छ,’ उनले भनिन् ।

भारतको दिल्लीमा उपचाररत झलनाथ खनालको पनि आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो । परराष्ट्र मन्त्रालय, दिल्लीस्थित भारतका लागि नेपाली दूतावास र काठमाडौंस्थित नेपालका लागि भारतीय दूतावासले समन्वय गर्दा पनि आयोगले सनाखत गर्न आनाकानी गरेको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । विगतको प्रतिनिधिमार्फत पनि सनाखत गर्ने अभ्यासलाई अहिले आयोगले पालना नगरेको झाँक्रीको भनाइ थियो ।पहिला राप्रपा विभाजन हुँदा अमेरिकामा बस्ने एकजना सदस्यले सनाखत गर्दा जो व्यक्ति उहाँको वकिल हुनुहुन्थ्यो उहाँ नै एकजना आयुक्त हुनुहुन्छ । त्यसकारणले यस्तो सनाखत गर्न अभ्यासले पनि रोक्नुहुन्छ भन्ने लाग्दैन,’ उनले भनिन् ।

प्रमुख निर्वाचन आयुक्त एमाले नेताहरूको दबाबमा आएर चलिरहेको झाँक्रीको आरोप थियो । मंगलबार एमालेका निर्वाचन विभाग प्रमुख अग्नि खरेललगायत नेताहरू निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको सनाखतका क्रममा आफ्ना प्रतिनिधि राख्नुपर्ने र एमालेले कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका १४ जनालाई गणना गर्न नहुने भन्दै दबाब दिएका थिए ।
‘हामी नेकपा (एमाले) संसदीय दलको १ सय ५४ जना सांसद हो । २ सय ३ जनाको केन्द्रीय कमिटी हो । तीमध्ये आज जो यहाँ आएर यो पार्टीमा उभिन्छौं भन्नुहुन्छ उहाँहरूलाई सनाखत गर्नुपर्छ,’ उनले भनिन्, ‘उहाँहरू (निर्वाचन आयोगका पदाधिकारी) ले रोक्न पाउनुहुन्न । रोक्ने हो भने कुन कानुन अनुसार हो देखाउनुपर्छ ।’

विगतमा झैं प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूहरूप्रति पूर्वाग्रह राखेको झाँक्रीको आरोप थियो ।चारजना संघीय सांसदले मंगलबार निर्वाचन आयोगमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा रहन लागेको र त्यसमा सनाखत गराइपाउँ भनेर निवेदन दिएका थिए ।
कान्तिपुर दैनिक बाट।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार