• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

च्याप्टर क्लोज : माधव नेपाल पक्ष सरकारमा नजाने


काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को
पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन्।‘तत्काल सरकारमा सहभागी हुदैनौं।सरकारमा सहभागी

हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले भने ।सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।
‘सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भयो । हामीले गठबन्धनका नेताहरुलाई भनिसकेका छौं’

अर्का नेता रघुजी पन्त भन्छन् । विश्वासको मत दिएपछि नेता नेपालले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । स्थायी कमिटी, विश्वासको मत दिने सांसदहरु, जनसंगठनका नेता लगायतसँग छलफल गरिसकेका नेता नेपालले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेका छन् ।बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए ।‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकताबद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । तर पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।

‘सांसदहरुको बैठकमा पनि हामीले एकता गर्नु राम्रो हुन्छ, तर धेरै अलमलमा बस्नु उचित हुन्न भनेका छौं । सरकारमा जान हतार नगरौं भन्ने पनि हो’, एक सांसद भन्छन् ।देउवालाई विश्वासको मत दिने केही सांसदहरु भने सरकारमा सामेल हुनुपर्ने पक्षमा छन् । तत्काल पार्टी विभाजन गरेर भए पनि सरकारमा जानुपर्ने उनीहरुको तर्क छ ।

नेता नेपालले भने आफ्नो समूह सरकारमा नजाने, तर कोही सांसदले व्यक्तिगत रुपमा सांसद पद र पार्टी छोड्ने जोखिम लिएमा केही भन्न नसकिने जवाफ दिएको एक सांसद बताउँछन् । ‘कसैले रिस्क लिने हो भने अर्कै कुरा हो । तर समूहगत रुपमा सरकारमा सामेल हुने अवस्था छैन’, सांसदहरुलाई नेता नेपालले भनेका छन् ।

देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए । विशेषगरी ओली समूह छाडेर विश्वासको मत दिनेहरु सरकारमा जान जोड गरिरहेका उक्त भेलामा सहभागी एक सांसदले बताए ।‘माधव कमरेडले रिस्क लिन तयार हुने भए अर्कै कुरा भनेपछि संभवतः कोही सरकारमा जानु हुन्न होला’, नेपाल निकट एक नेता भन्छन् ।आजभोलि नै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरु लागिपरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार