• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बैंक एकाउन्टमा पैसा थिएन तर यसरि एक्सपायर एटीएम कार्डबाट निस्कियो ३४ लाख ३५ हजार


म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका वडा नम्बर ५
स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

त्यसरी पैसा निकालेको आरोपमा प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो।गुरुङ पूर्व ब्रिटिस लाहुरे हुन्। जगतबहादुर र सावित्री सँगै बस्थे।उनीहरूले काठमाडौंका चाबाहिल, कालोपुल, हात्तिसार भाटभटेनी क्षेत्रका रहेको सिदार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका थिए। पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग गरेका थिए।पक्राउ परेका उनीहरू दुबै जना सिदार्थ बैंकको एटिएम प्रयोग गरेका थिए।बैंकका अनुसार उनीहरूले सुरूमा गत बुधबार पैसा झिकेका थिए। सुरूमा उनीहरूले ३० हजार रकम निकालेका थिए।’आफ्नो डेबिट कार्डको मिति सकिएको थाहा पाउँदा-पाउँदै पनि उनीहरूले गत बुधबार पैसा झिकेका थिए,’ परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

उनीहरूले पटक-पटक गरी ३४ लाख ३५ हजार रुपैयाँ झिकेका थिए। त्यसको करिब २ लाख रकम त उनीहरूले खर्चसमेत गरिसकेका छन्। त्यसरी म्याद नै गुज्रिएको कार्डबाट पैसा झिकेको थाहा पाएपछि बैंकले प्रहरीलाई कार्यालयमा जाहेरी दिएको हो।उनीहरूले ह्याक नै गरेर पैसा झिकेका भने थिएनन्।’कार्ड हालेपछि यत्तिकै पैसा निस्किएको रहेछ,’ सिंहले भने,’सिस्टमको खराबीका कारण त्यस्तो भएको भनेका छन्।’उनीहरूले नै बिगारेका हुन् कि भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

यता सिदार्थ बैंकका कार्ड डिभिजन प्रमुख सुरेश महर्जनले भने सिस्टममा आएको एकखाले दुर्लभ समस्याका कारण भएको बताउँछन्।’बेलायतको लोइज बैंकबाट इस्यू गरिएको कार्ड हो। त्यसको वास्तविक होल्डरले नै पैसा झिकेको हो। तर उहाँले म्याद गुज्रिसकेको कार्डबाट पैसा झिक्ने प्रयास गर्नुभयो,’ महर्जनले भने, ‘हाम्रो बैंकले एटिएमको व्यवस्थापन गर्ने संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड- नेप्सबाट सेवा लिएको छ। त्यहाँको एउटा दुर्लभ प्राविधिक समस्याले गर्दा यस्तो भएको हो। कुनै एक खाले परिवेशमा सिस्टमले ह्यान्डल गर्न नसकेको हुनाले त्यस्तो भएको रहेछ।’

त्यसरी समस्या आएको थाहा पाएपछि सिस्टमको ‘बग’को पहिचान गरेर सुरक्षित बनाइसकेको उनले बताए।’खातामा भएको भन्दा बढी पैसा निकालेर लानुभयो। हामीले प्रहरीलाई सिसिटिभी फुटेजसहितको सूचना दियौं त्यसपछि प्रहरीले ट्र्याक गरेर उहाँहरूलाई पक्राउ गर्नुभयो,’ उनले भने।उनीहरूले त्यसरी झिकेका पैसाहरू अधिकांश प्रहरीले बरामद गरिसकेको छ। प्रहरीले एउटा डेबिट कार्ड र २१ लाख बरामद गरेको छ। झिकेको मध्ये १० लाख ५० हजार रकम भने सहकारी जम्मा गराएको समेत खुलेको प्रहरीले जनाएको छ।सामान्यत: म्याद सकिएको डेबिट कार्डबाट पैसा निस्किँदैन। तर कहिलेकँही केही एकदमै दुर्लभ प्राविधिक समस्याका कारण त्यस्तो भएको प्रमुख महर्जनको भनाइ छ।

‘जुन तरिकाले डाटाहरू आयो। त्यसको पनि विश्लेषण भइरहेको छ। यो एकदमै पृथक र कहिले पनि नभएको परिवेश हो,’ उनले भने, ‘एटिएमको फाइलहरू चेक गर्नेबेलामा त्यसरी कारोबार भइरहेको भेट्यौं। यस्तो कहिले नभएको भएर हामीले सुरूमा थाहै पाएनौं।’उनीहरूमाथि प्रहरीले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति माग गरेको छ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार