• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अर्को अध्यादेशको अन्तिम तयारीमा सरकार


काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने भएको छ।आर्थिक वर्ष ०७८/७९ को बजेट अध्यादेशबाट
ल्याउने तयारी अन्तिम चरणमा रहेको र बजेट छपाइको तयारी सकिएको बताइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ

श्रेष्ठले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम बजेटको काम भइरहेको बताएका छन् । उनले सरकारले बजेट अध्यादेशको तयारी अन्तिम चरणमा पुर्‍याएको पनि बताए ।बजेटको तयारीस्वरुप नै शुक्रबार सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । त्यस्तै, बजेटभन्दा अगाडि ल्याइने नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रम नै नभने पनि प्रधानमन्त्री ओलीले आफूले सार्वजनिक गरेका नीति अनुसार नै अर्थमन्त्रीले बजेट वक्तव्य जारी गर्ने बताएका थिए । ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत् सार्वजनिक गरिनेछ,’ उनले सम्बोधनमा भनेका थिए ।

बजेट शुक्रबार राति छापेर शनिबार अध्यादेश जारी गरी सार्वजनिक गर्ने तयारी सरकारको रहेको छ । ‘संविधानमा नै जेठ १५ गते बजेट भाषण गर्नुपर्ने उल्लेख भएकाले भोलि नै बजेट आउँछ,’ मन्त्री श्रेष्ठले भने ।बजेट अध्यादेशमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र कानुनमन्त्री श्रेष्ठले हस्ताक्षर गर्नेछन् । शनिबार बिहान योजना आयोगको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष ओलीको अध्यक्षताको उक्त बैठकले बजेटका प्राथमिकता क्रम तोक्ने र पास गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठक बसेर पास गर्नेछ ।

मन्त्रिपरषद्ले पास गरेपछि राष्ट्रपतिकहाँ सिफारिस गर्ने र राष्ट्रपतिबाट अध्यादेशका रूपमा जारी हुनेछ ।राष्ट्रपतिबाट बजेट अध्यादेश जारी भएलगत्तै राजपत्रमा प्रकाशित हुनेछ । अर्थमन्त्रीले बजेट वक्तव्य मार्फत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।आगामी वर्षको बजेट नल्याउन सरोकारवाला निकाय र व्यक्तिहरूले सरकारलाई सुझाव दिँदै आएका छन् ।

कामचलाउ सरकार भएको र कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरिएकाले पूर्ण बजेट नल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरू, पूर्व प्रमुख निर्वाचन आयुक्तहरू, योजना आयोगका पूर्वउपाध्यक्षहरूले सरकारलाई सचेत गराएका छन् । सरकारले भने कस्तो बजेट ल्याउन लागेको हो भन्ने खुलाएको छैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार