• २०८१ कार्तिक २८ गते बुधवार
  • Preeti To Unicode

भीम रावलको विवादास्पद ट्वीट बारे जिल्ला प्रशासन कार्यालय पर्साले निकाल्यो एस्तो बिज्ञप्ति


वीरगन्ज : गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिन्। अध्यादेश जारी भएको भोलिपल्ट सोमबार एमालेका नेता, पूर्वउप्रधान तथा गृहमन्त्री भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमा जारी नागरिकता अध्यादेशलाइ लिएर

वीरगन्जकाबारे विवादास्पद अभिव्यक्ति ट्वीट गरे । ट्वीटरमा रावलले लेखेका थिए, ‘वीरगन्जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ’।’रावलको यो ट्वीटले वीरगन्ज मात्र नभइ मधेसका हरेक जिल्लामा हल्लीखल्ली नै भयो । सामाजिक सञ्जालमा रावलको उक्त ट्वीटलाई लिएर उनको चर्को अलोचना मात्रै भएन अपशब्द प्रयोग गरेर रावलप्रति आक्रोश नै पोखयो । वीरगन्जमा रावलको पुत्ला दहन पनि गरियो । जसका कारण भोलिपल्ट मङगलबार बिहानै रावल आफैले उक्त ट्वीट डिलिट (मेटाए) गर्न बाध्य भए । रावलको त्यहि ट्वीट र सामाजिक सञ्जालमा लेखिएका टिप्पणीहरुलाई लक्षित गरेर बुधबार जिल्ला प्रशासन कार्यालये पनि एक प्रेस विज्ञप्ति जारी गर्यो।

जिल्ला प्रशासन कार्यालय पर्साको विज्ञप्तिमा निषेधाज्ञा अवधिमा ठूलो भीडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जनाएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा निषेधाज्ञा सुरु भएयता जिल्ला प्रशासन कार्यालय पर्साबाट एउटा पनि नागरिकता वितरण नभएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ– जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरणसम्बन्धी विषयलाई लिएर गरिएका पोष्ट र आएका समाचारप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न पर्सा जिल्लामा वैशाख १६ गते देखि नै जिल्लाभर लागूहुने गरी निषेधाज्ञा जारी गरिएको भन्दै पौडेलले निषेधाज्ञा जारी भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा र कोभिड नियन्त्रणसंग सम्बन्धित अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल बन्द रहेको बताएका छन् ।

निषेधाज्ञा अवधिमा ठूलो भीडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो फुटेज पुरानो रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचार आधारहीन, असत्य र कपोल कल्पित रहेको विज्ञप्तिमा उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भनेका छन् ,‘अहिले स्थानीय प्रशासनको सबै प्रयास कोभिड–१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा मात्रै केन्द्रित छ , त्यो बाहेक कार्यालयबाट कुनै पनि सेवा प्रवाह भएकै छैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार