• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

भोलि बिहान ९ बजे सम्ममा सहमति नभए कठोर निर्णय गर्ने नेपाल समूहको निर्णय


काठमाडौं । नेकपा एमाले को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको

राजीनामाको संकेत गरेको छ ।आइतबार दिउँसो पार्टी अध्यक्ष ओलीको प्रतिनिधिका रुपमा आएका सुवास नेम्वाङ र विष्णु पौडेलसँग भेटवार्ता गरेपछि नेता नेपालले आफ्ना सांसदहरुको बैठक बोलाएका थिए । बैठकले पार्टीको एकता जोगाउन पहल गर्ने प्रमुख दायित्व पार्टी अध्यक्ष ओलीको भए पनि गम्भीरताका साथ दायित्व पूरा नगरेको निष्कर्ष निकालेको छ । बरु आफूहरुतर्फ लक्षित गर्दै वक्तव्य दिनु चिन्ताजनक भएको नेताहरुले बताएका छन् ।अन्तिम समयसम्म पनि एकताको प्रयास गर्ने भन्दै बैठकले अध्यक्ष

ओलीसँग २ जेठ २०७५ को पार्टी संगठन र नेतृत्वमा फर्किने र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने दुईबुँदे प्रतिवद्धता मागेको छ ।‘हामीले आजको बैठकबाट पनि अध्यक्षलाई २०७५ जेठ २ को अवस्थामा फर्किएर संगठन र पार्टीको जीवनलाई सुचारु गर्न र पार्टीलाई सहमतिका आधारमा पार्टी सञ्चालन गर्न ध्यानाकर्षण गराएका छौंं’ बैठकपछि सांसद योगेश भट्टराईले भने, ‘त्यसका निम्ति उहाँलाई (वैशाख) २७ गते ९ बजेसम्मको समय दिएका छौं ।’

नेपाल समूहले आफ्नो पक्षका सांसदहरुलाई भोलि विहान साढे ९ बजे बैठकमा बोलाएको छ ।अध्यक्ष ओलीले आफूहरुको मागअनुसार प्रतिवद्धता जनाए पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विश्वासको मत लिन जाँदा संसदमा उपस्थित हुने र पक्षमा मतदान गर्ने सांसद भट्टराईले बताए ।

नभए कठोर निर्णय गरेर अगाडि बढ्ने भन्दै उनले भने, ‘एउटा समूहलाई पेल्ने, कारबाही गर्ने, डरधाक देखाउने जस्ता क्रियाकलाप भयो भने जे निर्णय गर्नुपर्ने हो, त्यो गर्छौं ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार