• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

वैशाख २७ अगावै झलनाथ–माधव समूहका सांसदले सामुहिक राजीनामा दिने


काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ।प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।बालुवाटारमा केपी ओलीको

नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल सुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् । पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्‍नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले रातोपाटीलाई बताए ।के तपाईहरुले सांसद पदबाट सामुहिक राजीनामा दिन लाग्नुभएको हो ? भन्ने रातोपाटीको प्रश्नमा नेता भुसालले यस्तो प्रतिक्रिया दिए–अस्ति बैशाख १२ गते उहाँहरु बैठक बस्नुभएको थियो । त्यसैदिन हामीमाथि कारवाही गर्ने प्रधानमन्त्रीको योजना थियो ।

तर, यसरी कारवाही गर्दा संसदमा हाम्रो आफ्नै सिट संख्या कम हुन्छ भनेर त्यहाँ सुवास नेम्वाङले रोकेको सुनियो । त्यसपछि के गर्ने त भन्दा पहिला विश्वासको मत लिने, त्यसपछि कारवाही गर्ने । उहाँहरुको यस्तो निर्णय भएको रहेछ ।अहिले प्रधानमन्त्रीले अचानक विश्वासको मत लिने प्रस्ताव लिएर आउनुभयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै ओलीजीले किन यसो गर्नुभयो त भन्दा यति गरेपछि हामीमाथि कारवाही गर्ने पक्षमा छन् भन्ने हामीले बुझ्यौैं । अहिले विश्वासको मत लिएपछि अरुलाई पनि सरकारमा सहभागी गराउने र हामीलाई कारवाही गर्ने ।

यसो भइसकेपछि त हामीलाई जसरी पनि कारवाही गर्छन्–गर्छन् । एकता नगर्ने, दक्षिणपन्थीहरुसँग मिल्ने, बाहिरका शक्तिहरूसँग मिल्ने, सामन्तहरूसँग मिल्ने र हामीलाई लेखेट्ने । र, हामीलाई कारवाही गर्नका लागि यो ल्याइएको हो भन्ने हामीलाई लागेको छ ।त्यसैका कारणले गर्दाखेरि राजीनामा गर्नुपर्छ भन्ने एउटा विचार हामीकहाँ आएको छ । दक्षिणपन्थीहरुसँग मिलेर हामीमाथि कारवाहीका लागि उहाँहरुले तयारी गर्नुभएको छ ।

कारवाही त हामीलाई गर्ने नै छन् । बाहिरका शक्तिहरूसँग मिल्ने, पार्टीभित्रका असहमतिहरुलाई दबाउने, जेठ २ मा फर्कौं भन्दा नटेर्ने । यो भनेको एमाले पार्टी विभाजित गर्ने उनीहरुको सुनियोजित तरिका हो । सुनियोजित स्टेपहरु चालेर गएका छन् भनेर हामीले भनेकै छौं ।त्यसैले हामीले राजीनामा दिनु राम्रो हो भन्ने मत हामीकहाँ आएको छ । पहिले भोट हाल्न लगाएर त्यसपछि हाम्रो राजनीतिक हत्या गर्न खोजेजस्तो देखियो ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार