• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेश नै नगरी एमाले बैठक स्थगित


एमालेस्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी
कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनासाथ ओलीले विघटित कार्यदलमा भएको प्रगतिबारे जिज्ञासा राखेका थिए ।

शनिबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विघटित कार्यदलका सदस्यहरूसँग भएको छलफलबारे ओली पक्षीय संयोजक सुवास नेम्वाङले जानकारी गराएका थिए । नेम्वाङले कार्यदलमा छलफल सकारात्मक भएको र भीम रावलसहितका नेताहरू नेपाललाई भेट्न कोटेश्वर गएको भन्दै पार्टी एकताका लागि बैठक सार्न सुझाब दिएका थिए । नेम्वाङको ब्रिफिङपछि ओलीले बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गराएका छन् । नेम्वाङले भने ‘मैले विघटित कार्यदलमा भएको सहमतिबारे बैठकमा जानकारी गराएँ । कार्यदलमा भएको छलफल र नेताहरू नेपालनिवास गएको विषय राखेपछि बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

नेपालमाथि ओलीका ३ आरोप : वामपन्थी सरकार ढाल्‍ने, फ्लोर क्रस गर्ने र खुट्टा तान्‍ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको प्रष्ट पारेका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै ओलीले नेपालसहितका नेतालाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गरेका हुन् ।‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने’, अध्यक्ष ओलीले नेपाल समूहमाथि आरोप लगाउँदै भने,‘यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन ।’

ओलीले नेपाल पक्षका अन्य नेतालाई भने पार्टीका आउन पुनः आह्वान गरे । ‘अरु साथीहरू गल्ती महसुस गरेर फर्कनुहुन्छ भने हामी मौका दिन्छौँ, आउनुहोस्– यो पार्टी हामी सबैले बनाएका हौँ’, अध्यक्ष ओलीले थपे ,’गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौँ ।’ ‌‌‍अध्यक्ष ओलीले नेपाल पक्षमा नेताहरू नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गरे । ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावीसमेत गरे । पार्टीमा खुट्टा तान्ने तत्वहरू अव पार्टीभित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क छ ।

‘अवको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरू छैनन् । अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने’, उनले भने,’अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे । उनले भने,’अव यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैैसियत विजयका साथ देखाउनु पर्नेछ । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न,

म कहाँ परे, मेरो पद कहाँ पर्‍यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकताबद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ ।’

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार