• २०८१ मङ्सिर २५ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्रालय भागबन्डा बारे छलफलका लागि महन्थ – राजेन्द्र बालुवाटारमा


काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल गर्न जनता समाजावादी पार्टीका (जसपा) का
नेता बालुवाटार पुगेका छन्। ओलीसँग छलफल गर्न जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका हुन्। सरकारमा

सहभागी हुनेबारेमा छलफल भइरहेको ओली निकट नेताले बताए। ‘जसपाका नेताहरु आउनु भएको छ। छलफल सरकारमा सहभागी हुने र समसामयिक राजनीतिमा केन्द्रीत भएर हुन्छ,’ उनले भने।कुन-कुन मन्त्रालयमा जसपालाई सहभागी गराउने भन्नेबारेमा जसपा र एमालेका नेताहरुबीच पटक-पटक संवाद भएको भए पनि निष्कर्ष भने पुगेको छैन। जसपाले गृहसहित महत्वपूर्ण मन्त्रालयका लागि दाबी गरेको बालुवाटार निकट् स्रोतले बताएको छ।

जसपाभित्र हाल ओलीलाई समर्थन गर्न/नगर्ने समूहबीच विवाद बढदै गएको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर-महतोलाई पार्टीबाट निष्कासन गर्ने तयारी गर्दा ठाकुर महतोले पनि यादवलाई निष्कासन गर्ने तयारी गरेका छन्। त्यसका लागि दुबै समूहले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए।

ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई ठाकुरले स्वागत गरेका छन् भने उनले सरकारलाई आफ्नो समर्थन हुने बताउँदै आएका थिए।
प्रधानमन्त्री ओलीले संविधान संसोधनका लागि एमाले र जसपाका नेताहरुलाई राखेर कार्यदल बनाएपछि जसपाको ठाकुर महतो समूह सरकारमा जान राजी भएको हो। सरकारमा नगएर बाहिरै बसेर सहयोग गर्नेबारेमा पनि छलफल भए पनि ओलीले सरकारमै सहभागि गराउन पहल गरेपछि जसपा सरकरमा जान राजी भएको छ।

राष्ट्रिय सरकारका लागि ओलीले आह्वान गरेकाले जसपासँगै अरु दलसँग पनि छलफल भइरहेको एमलेका स्थायी कमिटी सदस्य तथा ओली निकट नेता सुवास नेम्वाङले जानकारी दिए। ‘प्रधानमन्त्रीले राष्ट्रिय सरकरका लागि आह्वान गरिसकेपछि सबै दलसँग छलफल भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार