• २०८१ असोज २४ गते बिहिवार
  • Preeti To Unicode

शक्ति परीक्षण: माओवादीका ४ सीटमा कसले मार्ला उपचुनावमा बाजी ? यी हुन् प्रतिनिधिसभाका ४ क्षेत्र


प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् ।माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार
क्षेत्रमा उपनिर्वाचनको मितितोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोछ।तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार

हरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए । अबको केही महिनामा यी चारवटै क्षेत्रमा उपचुनाव हुँदैछ ।माओवादीले जितेका यी चारवटै क्षेत्रमा ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले त्यो गठबन्धन भत्किएको छ भने स्वयं एमालेसमेत चोइटिएर कमजोर बनेको छ । यी चार क्षेत्रमा माओवादी पनि फुटेको छ । किनभने, जननिर्वाचित सांसदहरु नै माओवादी छाडेर एमालेतिर लागेको स्थिति छ । माओवादी केन्द्रका सांसदले दल त्याग गरेका कारण यहाँ माओवादी पनि कमजोर बनेको छ ।त्यसैले यी चारवटा संसदीय चुनाव क्षेत्रमा गठबन्धनबिनै उम्मेवार खडा गर्ने हो भने एमाले वा माओवादी दुबैले जित हात पार्न मुस्किल देखिन्छ ।

किनकि, कम्युनिस्ट पार्टी फुटेको स्थितिमा यहाँ अहिले नेपाली कांग्रेस बलियो शक्तिका रुपमा देखिएको छ ।उपनिर्वाचन हुन लागेका प्रतिनिधिसभाका चारवटै सिटहरु यसअघि माओवादीले जितेका सिट हुन् । अबको उपचुनावमा सत्तापक्षीय गठबन्धनले सबै सिटमा माओवादीलाई भोट हाल्छ या चार सिटमध्ये काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक–एक सिट भाग लगाउँछन् ? यो भने स्पष्ट भइसकेको छैन । अब उपचुनाव हुन लागेका चारवटै निर्वाचन क्षेत्रको गणितीय चित्र हेरौं–

प्रभु साहको क्षेत्र : रौतहट ३
रौतहट क्षेत्र नम्बर ३ बाट एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रभु साहले २०७४ सालको प्रतिनिधि सभा चुनावमा २७ हजार ७९९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार यादवले १८ हजार २०६ मत ल्याएका थिए । उनीहरु बीचको मतान्तर ९ हजार ५९३ थियो ।यस क्षेत्रमा ०७४ को चुनावमा राजपा नेपालका उम्मेदवार ओमप्रकाशले १४ हजार ६५८ मत ल्याएका थिए । अब हुने उपनिर्वाचनमा प्रभु साहलाई यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उठ्ने सम्भावना छ । यहाँ माओवादीले आफ्नो पुरानो बर्चस्व कायमै रहेको देखाउनुपर्ने चुनौती छ ।

टोपबहादुर रायमाझीको क्षेत्र : अर्घाखाँची १
२०७४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । दुई उम्मेदवारबीच १८ हजार २९३ मतान्तर थियो ।टोपबहादुर रायमाझी यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् । तर, एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ । माओवादीलाई भने यहाँ पनि आफ्नो बर्चस्व देखाउनुपर्ने चुनौती छ ।

लेखराज भट्टको क्षेत्र : कैलाली ४
कैलाली क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट तत्कालीन माओवादी नेता लेखराज भट्ट निर्वाचित भएका थिए । २०७४ सालको चुनावमा भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनील कुमार भण्डारीले २० हजार ९ सय ६० मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार गीता क्षेत्रीले ३ हजार १ सय ७३ मत ल्याएकी थिइन् ।​यहाँ काँग्रेसका उम्मेदवारको तुलनामा भट्टले १० हजार ३ सय ९९ मत बढी ल्याएका थिए । पछिल्लो फेरिएको राजनीतिक शक्ति सन्तुलनका कारण यो क्षेत्रका नेता भट्टले अघिल्लो चुनावमा पाएको मत बाँडिने निश्चित छ । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई कैलालीका एमालेका मतदाताले सहज रुपमा स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने प्रश्न पनि छ । अर्कोतर्फ, पार्टी फुटेपछि सुदूरपश्चिममा एमालेको हालत खराब रहेको छ । भट्टलाई फेरि जित सुनिश्चित गर्न यो क्षेत्रमा चुनौती देखिन्छ ।तर, माओवादीले पनि काँग्रेसको साथ नपाउने हो भने पुरानो जीतलाई जोगाउन मुस्किल पर्ने देखिन्छ ।

गौरीशंकर चौधरीको क्षेत्र : कैलाली ३
कैलाली क्षेत्र नम्बर ३ बाट २०७४ सालको चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार बनेका माओवादी नेता गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । यस्तै राजपाले ४ हजार ४४ मत र नेकपा मालेले ३ हजार २५५ मत पाएका थिए ।यहाँ गौरीशंकर र रामजनम चौधरीको मतान्तर ४ हजार ३ सय ८५ रहेको थियो । तत्कालीन अवस्थामा बलियो रहेका एमाले र माओवादीको संयुक्त मतभन्दा ४ हजार मतले कांग्रेस पछाडि देखिएको थियो । यो क्षेत्रमा विना गठबन्धन उम्मेदवार उठ्ने हो भने कांग्रेसले जित निकाल्ने स्पष्ट देखिन्छ । तर, माओवादीलाई यहाँ पनि पुरानो जित जोगाउनुपर्ने चुनौती छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार