• २०८१ मङ्सिर २९ गते शनिवार
  • Preeti To Unicode

संखुवासभा काण्डको रिपोर्ट अन्तिमतिर : गतिलो प्रमाण प्रहरीसँग नहुँदा अभियुक्तहरु छुट्ने सम्भावना !


काठमाडौं १२ वर्षअघि भ्याली कोल्ड स्टोरका सञ्चालकलाई अपहरण तथा फिरौती प्रकरणमा प्रहरीले अभियुक्तका रुपमा दुर्गाबहादुर बुढाथोकीलाई अदालतलमा उभ्यायो।
यहाँसम्म त सबै ठीकै थियो तर जब प्रहरीले अदालतमा उपस्थित गराएका व्यक्तिले सहजै सफाइ पाए, त्यसपछि भने प्रहरीका लागि निक्कै पेचिलो बन्यो अपहरणको त्यो केस। अनि प्रष्ट

रुपमा प्रश्न उठ्यो प्रहरीले गरेको अनुसन्धानमाथि।प्रहरीले बुढाथोकीलाई २०७७ साल पुसमा भारतको दार्जिलिङबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। १२ वर्षभन्दा पुरानो केसमा प्रहरीले सफलता हासिल गरेको भन्दै केस टुङ्ग्याउने तयारी पनि थियो। त्यसैले अभियुक्त बुढाथोकीको केस अदालत पुग्यो। तर, प्रहरीको अनुसन्धान यति फितलो रह्यो कि अभियुक्तको पहिचान खुल्ने कागजात समेत पेश हुन सकेन। त्यसैको आधारमा अभियुक्तले अदालतमा आफू नेपाली नागरिक दुर्गाबहादुर नभएको दाबी प्रस्तुत गरे। प्रहरीको प्रमाणभन्दा दुर्गाबहादुरले पेश गरेको प्रमाण बलियो भयो र अदालतले सोहि अनुकूल फैसला गर्‍यो।गत असोज ५ गते जिल्ला अदालत काठमाडौँले दुर्गाबहादुर बुढाथोकी नेपाली नागरिक भएको प्रमाणित गर्न प्रहरी असफल रहेको भन्दै उनलाई सफाई दियो। प्रहरीको लामो समयको अनुसन्धान एक हिसाबले बालुवामा पानी झै भयो। कुरा यतिमै टुङ्गिएन। अनुसन्धान अधिकृतले नियतवस नै उनलाई उन्मुक्ति दिन केस कमजोर बनाएर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेका हुन् या अनुसन्धान नै अन्धधुन्ध गरिएको हो? प्रश्न उठेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धानका लागि छानविन समिति नै बनाएको छ।

प्रहरीको अनुसन्धानमा यस्तो घटना नयाँ चाहिँ होइन। मुद्दा कमजोर बनाउने र अनुसन्धान नै कमजोर धरातलमा रहेर गर्ने विषय नेपाल प्रहरीको अनुसन्धानसँग सधैं जोडिने गरेको छ। प्रहरीले समातेका अभियुक्तको खुट्टामा लुकाएको लागू औषध दाहिने र देब्रे समेत गलत लेख्दा अपराधी अदालतबाट मुक्त भएको केस पनि छ। अदालतले हेर्ने प्रमाण हो, त्यसमा अनुसन्धान गर्ने चुक्दा त्यसको मूल्य महँगो पर्न जान्छ भन्ने उदाहरण हो यो केस। सर्वोच्च अदालतका न्यायाधीश परमानन्द झाले दिएको फैसलामा प्रहरीले दाहिने र देब्रे खुट्टा खुट्याउन नसक्दाको कमजोरीलाई किटान गरिएको थियो। न्यायाधीश रहेका झा नेपालको पहिलो उपराष्ट्रपति समेत भए पछि।यस्तै घटनालाई नजिरका रुपमा उभ्याउँदै घटना अनुसन्धान र त्यसको प्रतिवेदन तयार गर्नेक्रममा सजगता अपाउने क्रम भने बढेको छ। अभियुक्तको बयानको भरमा नै प्रतिवेदन बुझाउँदा प्रहरीले पटकपटक त्यसको चर्को मूल्य चुकाउन परेको छ। पछिल्लो समय सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरण यसै सन्दर्भको नयाँ केस हो। त्यसैले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ यस हत्याकाण्डको।

‘पहिलेका घटनाले धेरै कुरा सिकाएको छ। एउटा अक्षर पनि फरक पर्दा के हुने रहेछ भन्ने बुझेका छौं। त्यसैले म आफैँ प्रतिवेदन हेर्ने, प्रमाण सङ्कलन गर्ने गरिरहेको छु,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले भने।संखुवासभा मादी नगरपालिका – १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो गएको भदौ २१ गते। हत्या भएको पाँच दिनपछि २७ गते मुख्य अभियुक्त भनेर प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्‍यो। उनी एक्लैले ६ जनाको हत्या गरेको दाबी समेत गर्न प्रहरीले भ्यायो। तर, त्यसको केही दिनपछि घटनामा ट्विस्ट देखियो। एकाएक चार जना अरु पनि घटनामा जोडिएको खुल्यो।

४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय नरेश कार्की अनुसन्धानमा तानिए। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बाबु हुन्। त्यस्तै, घटनाका मुख्य योजनाकार पनि लोकबहादुर नभएर खड्गबहादुर कार्की भएको देखियो। आफ्नै अनुसन्धानमा केही दिनकै अन्तरमा प्रहरीले फरक फरक तथ्य पेश गर्‍यो। प्रहरीको अनुसन्धानमा संदेहको घेरामा पर्नका लागि यस्तो कमजोर प्रस्तुती आफैँमा पर्याप्त थियो। लोकबहादुरको बयानकै आधारमा पहिले प्रहरीले अनुसन्धान गरेको थियो।तर, विभिन्न प्रमाणले हत्यामा अन्य मानिसको पनि संलग्नता देखियो। बिहानै खुल्ला ठाउँमा ६ जनाको पालैपालो हत्या एकै जनाले गर्ने सम्भावना कम रहन सक्छ भन्ने सामान्य शंका समेत नगरी प्रहरी एक जनाको बयानमा बहकियो। अनुसन्धानमा ‘क्रेडिट’ लिने हतारोले सिंगो संगठनको अनुसन्धानप्रति सर्वसाधारण कस्तो दृष्टिकोण बन्छ भन्ने कुरा ख्याल भएन।

भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो। उनीहरू एउटै परिवारका थिए। पछिल्लो समय प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका पाँच जना पनि हत्या भएका परिवारकै सगोलभित्रका हुन्।यतिखेर प्रहरीसामु चुनौती छ – अभियुक्तहरुलाई अपराधी प्रमाणित गर्ने तथ्यहरु पेश गर्न। अपराधी हुन्/होइन निरुपण अदालतले नै गर्छ। तर, अहिले हिरासतमा रहेकाहरुलाई अपराधी पुष्टि गर्ने आधार चाहिँ प्रमाणसहित प्रहरीले नै जुटाउनुपर्छ। त्यसैले अहिले प्रहरी संखुवासभा घटनाको अनुसन्धानको अन्तिम चरणको वर्क आउट गरिरहेको छ। केही दिनमा नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय संखुवासभामा बुझाउने तयारी भइसकेको छ। घटनामा एक जना १७ वर्षीय बालक पनि मुछिएका छन्। उमेर हदका कारण प्रहरीले २१ दिनभित्र उनलाई अदालतमा लगिसक्नुपर्ने हुन्छ। त्यो डेडलाइन क्रस हुन नदिन प्रहरीले केस फाइल गर्ने तयारी गरेको हो। प्रहरीले पक्राउ गरेका पाँचै जनालाई प्रतिवादी बनाएर फाइल बुझाउँदै छ। सबैजनाको घटनामा प्रत्यक्ष संलग्नता भएकाले सबैलाई बारबरको प्रतिवादी बनाउन लागेको प्रहरी स्रोतको दाबी छ।

‘लगभग अनुसन्धान सकिएको छ। दुई तीन दिनमा नै सरकारी वकिल कार्यालयमा केस बुझाउँछौँ,’ डीएसपी सुवेदीले भने।प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले केस अदालतमा लैजानेछ। यदि प्रहरीको अनुसन्धान सरकारी वकिलको कार्यालयलाई चित्त बुझेन भने अझै अनुसन्धान गर्न फाइल फिर्ता दिन सक्छ। मुद्दा चल्ने आधार कार्यालयले देखेन भने केस त्यहीबाट क्लोज हुन सक्छ। तर, जघन्य अपराधको केसमा सरकारी वकिलको कार्यालयले त्यसरी फिर्ता गर्ने सम्भावना ज्यादै न्यून हुन्छ।अभियुक्त विरुद्ध बलियो प्रमाण भए केस अगाडि नबढ्ने हुँदैन। के संखुवासभा घटनामा प्रहरीले अभियुक्तलाई दोषी प्रमाणित गर्ने पर्याप्त प्रमाण भेट्टाएको हो? त्यसका लागि केके छन् त प्रमाणहरु?

जे प्रहरीको प्रतिवेदनमा आउँदैछ…
प्रहरीसँग अहिले सबैभन्दा विश्वासिलो प्रमाण अभियुक्तको घरमा भेटिएको मोबाइल नै हो। ३२ वर्षीय रञ्जना कार्की (हत्या भएकी महिला) दुई वटा मोबाइल चलाउँथिन्। जसमध्ये एउटा मोबाइल घटनास्थलमा भेटिएको थिएन। उनको मोबाइल प्रहरीले खोजी गरेको थियो। त्यो मोबाइल लोकबहादुरलाई सार्वजनिक गरेको केही दिनपछि उनकै भाइले प्रयोग गरिरहेको पहिचान भयो। त्यसपछि लोकबहादुरको घरबाट नै फोन फेला पारेको प्रहरीको दाबी छ।मृतकको मोबाइल लोकबहादुरको घरमा कसरी पुग्यो? अनि लोकबहादुरका भाइ नरेशले मोबाइल चलाइरहेका थिए। उनले आफूले चलाउँदै आएको सीम कार्ड हराइरहेको मोबाइलमा हालेपछि प्रहरीले उनलाई ट्र्याक गर्न धेरै कठिन भएन। त्यसपछि घटनाको अरुको पनि संलग्नता रहेको पत्ता लागेको प्रहरीको दाबी छ। अभियुक्तको साथमा मृतकको मोबाइल भेटिनु अदालतमा पेस गर्ने गतिलो प्रमाण भएको छ प्रहरीका लागि।

‘घटनापछि मोबाइल कहाँ गयो थाहा भएन। अभियुक्तले ओडारमा लुकाएको भन्ने गरेको छ। तर, हामीले अभियुक्तको घरबाट नै बरामद गरेका हौँ। यो हाम्रो लागि प्रमाण हो,’ डीएसपी सुवेदीले भने।अभियुक्तले अदालतमा कुनै चलाखी नगरी मोबाइल आफ्नै घरमा भएको बयान दिए भने अथवा प्रहरीले प्रमाणित गरे केस प्रहरीको पक्षलाई बलियो बनाउनेछ। अहिले मोबाइलको अन्य पक्षको परीक्षण गर्न प्रहरीको ल्याबमा पठाएको छ। त्यसबाट आउने प्राविधिक रिपोर्टले प्रहरीको अनुसन्धानलाई बलियो बनाउने सम्भावना छ।त्यस्तै, प्रहरीका लागि अर्को प्रमाण घटनामा प्रयोग भएको चक्कु पनि हो। सुरुमा प्रहरीको अनुसन्धानमा दाउराको चिर्पट हानेर हत्या भएको भनिएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा चक्कु जस्तो हतियार पनि प्रयोग भएको देखायो। त्यसपछि मात्र प्रहरी चक्कु खोजी गरेको थियो। प्रहरीले खोजेको चक्कु अभियुक्त लोकबहादुरकै घरमा फेला परेको प्रहरीको दाबी छ।

त्यस्तै, अन्य प्रमाणले पनि पक्राउ परेकाहरु तिरै संकेत गरेको प्रहरीको दावी छ। घटनाको क्रममा लोकबहादुरले लगाएको टिसर्टमा रगत देखिएको प्रहरीको दाबी छ। तर, त्यो रगत कसको? के को भन्ने खुलेको छैन? यदि रगत हत्या गरिएकामध्ये कसैको भए प्रहरीको लागि थप बलियो प्रमाण बन्ने निश्चित छ। ‘त्यसको रिपोर्ट आइसकेको छैन। त्यो पनि एउटा प्रमाण हुने आशा गरेका छौँ,’ डीएसपी सुवेदीले भने।अर्को प्रमाणको रूपमा चिर्पटलाई लिने सम्भावना थियो तर त्यो आगोमा जलाएर नष्ट गरेको अभियुक्तले बयान दिएका छन्।

प्रहरीका लागि परिस्थितिजन्य प्रमाणले पनि अभियुक्तलाई अपराधी पुष्टि गर्ने आधार तय भएको छ। घटना भएको समयमा उनीहरूको उपस्थिति लगायत अन्य पाटोमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले अभियुक्तको साविति बयानलाई पनि प्रमाणको रूपमा प्रस्तुत गर्न सक्छ। तर, अदालतले प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानभन्दा अदालतको कठघरामा उभिएर दिएको बयानलाई सबैभन्दा धेरै विश्वास गर्छ। यस्ता धेरै घटना छन् प्रहरीसँग दिएको साविति बयान अदालतमा गएर उल्टिएको। ‘पटक पटक भेरिफाइ गरिरहेका छौँ। सुक्ष्म ढङ्गले अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ,’ डीएसपी सुवेदीले भने।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार