• २०८१ पुष ७ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ कार्तिक १३ गते मङ्गलवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ कार्तिक १३ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ अक्टोबर २९ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, चन्द्रास्त : दिउँसो ०२:५९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:०७ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) द्वादशी तिथि, दिउँसो १०:५८ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बेलुका ०७:५४ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), ऐन्द्र योग, बिहान १०:१७ बजेसम्म, त्यसपछि वैधृति योग , सुरुमा तैतिल करण दिउँसो १०:५८ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि १२:०० बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य (दिउँसो १०:५८ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बेलुका १०:३० बजेपछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), धनत्रयोदशी (धनतेरस पर्व), त्रिपुष्कर योग दिनको ११:०१ बजेसम्म, अन्तर्राष्ट्रिय इन्टरनेट दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १४ गते : यमपञ्चक प्रारम्भ, काग तिहार, काक बलि, यम दीपदान (मृत्युनिवारणको उद्देश्यले साँझमा घरबाहिर चारचोसे दियोमा बत्ती बाल्ने दिन), धन्वन्तरी जयन्ती, स्वान्तिचह्रे पूजा, १५ गते : कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मी पूजा, इन्द्र, कुवेरादि पूजा, दीपावली, दीपमालिका, सुखरात्री, निशि बार्ने दिन,बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन, श्री हनुमान् जयन्ती, १६ गते : दर्श श्राद्ध, हलो बार्ने दिन

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउनेछ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। तापनि चुनौती पन्छाएर अघि बढ्न सकिनेछ। अध्ययनमा समय दिन नसकिएला। यात्रा र किनमेलमा बढी खर्च हुने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। तर आलस्य गर्ने बानीले पछि परिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयस्रोत बढ्नेछन् र व्यापारमा मनग्य फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश काम रोकिन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन्। अस्वस्थताले कमजोरी निम्त्याउनेछ। पेसा–व्यवसायमा केही चुनाैती आउन सक्छन्। गोप्य सूचना बाहिरिनाले काम राेक्नुपर्ने परिस्थिति आउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थीहरूकाे जीवनयात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार