चितवन एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शनिबार साँझ ६:२० मा पत्रकारहरूलाई एउटा एसएमएस पठाए, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न
हुने। महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुने।’सर्वसम्मत गराउन यसपालि एमाले अध्यक्ष केपी शर्मा ओली जोडतोडले लागेका छन्। पार्टीमा नेतृत्वको विकल्प छैन मात्र
होइन, आफू सर्वमान्य हुँ भन्ने देखाउन उनी अन्य पदमा सबै पक्ष समेट्न लचिलो बन्दै आएका छन्। भर्खरै पार्टी विभाजन भएको चोट खेपेको एमालेको बाँकी पंक्ति एक ढिक्का छ भन्ने देखाउन पनि उनी चाहन्छन्। तर, उपाध्यक्ष भीम रावलले बोलेको अध्यक्षको उम्मेदवारीका कारण सर्वसम्मतिको प्रयासमा ‘सकस’ थपिएको छ। शनिबार दिनभर रावललाई मिलाउने पहल एवं दबाब चलिरहे। त्यही कारण बन्दसत्र निर्धारित समयभन्दा ७ घण्टा ढिला सुरु भयो। बन्दसत्र बिहान ८ बजे सुरु गरेर ११ बजे निर्वाचन प्रक्रिया थाल्ने कार्यतालिका बनाइएको थियो। तर, बन्दसत्रै दिउँसो ३ बजे मात्र सुरु भयो। निर्वाचन प्रक्रियाका कुनै काम भएनन्। बरु साँझ ८:१० मा कार्यालय सचिव तामाङकै मोबाइलबाट अर्को एसएमएस आयो, ‘सर्वसम्मतिका लागि अध्यक्ष केपी ओलीलाई सम्पूर्ण अधिकार हलले दिएको छ।’ अर्थात्, महाधिवेशन प्रतिनिधिहरूले गड्गडाहटसहित अध्यक्ष ओलीलाई नेतृत्व छान्न ‘प्राधिकार’ दिएका छन्। उप–महासचिव विष्णु पौडेलको उक्त प्रस्ताव अध्यक्षका दाबेदार रावलबाहेक सबैले स्वीकारेका थिए। रावलले भने त्यसमा असहमति जनाएका थिए। आफ्नो फरक मत राख्दै उनले भने, ‘म उम्मेदवार हुन्छु। अध्यक्षलाई प्राधिकार दिने कुरा मान्दिनँ।’
प्रत्युत्तरमा अध्यक्ष ओलीले भने, ‘म एउटा सहमतिको प्रस्ताव ल्याउँछु। तपाईंलाई मान्य भएन भने, ठीकै छ, चुनाव लडौं। अरू कसैले लडेनन् भने तपाईं मात्रै उम्मेदवार हुनुहुन्छ ?’ ओलीले त्यति मात्रै भनेनन्, ‘ज–जसलाई उठ्ने मन छ, उठे हुन्छ। सर्वसम्मत भए पनि, चुनावै भए पनि नतिजा त उस्तै–उस्तै आउने हो।’ ओलीले आइतबार सम्पूर्ण पदको सूची प्रस्तुत गर्नेछन्। ‘हलले नै सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव गर्यो र त्यसको जिम्मा अध्यक्ष ओलीलाई दियो,’ स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङले भने, ‘अब अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्नुहुनेछ, त्यो प्रस्तावमा कसैले नमानेर लड्छु भन्छ भने चुनावमा उठ्न रोकतोक हुँदैन, ऊ लड्न सक्छ।’ उनले सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष ओलीसँग छलफल भने गरिने बताए। उपाध्यक्ष युवराज ज्ञवालीले पनि हलबाटै सर्वसम्मत नेतृत्व चयनका लागि ठूलो आवाज आएको स्पष्ट पारे। उनले चुनावमा जाँदा विगतमा जस्तो पार्टी विभाजनको अवस्था नआओस् भनेर नै हलले सर्वसम्मतको प्रस्ताव गरेको बताए। ‘आम मनोविज्ञानै सहमति गर्नुपर्छ भन्ने देखियो,’ उनले भने, ‘अब यो मुख्य भूमिका अध्यक्षमा आएको छ, उहाँले नै सूची तयार गर्नुहुन्छ र हलमा प्रस्तुत गर्नुहुन्छ। जुन पदमा असहमति भएर कोही चुनाव लड्छु भनेर आएमा लड्न कसैले रोक्ने छैन।’
नेता गनेर पद
एमालेमा नेता व्यवस्थापन निकै जटिल बन्ने स्थिति छ। माओवादीबाट थपिएका, माधवकुमार नेपालको अन्त्यमा साथ छाडेर रोकिएका नेतालाई समेट्नैपर्ने बाध्यता छ। अप्ठ्यारो अवस्थामा ओलीलाई साथ दिएका ‘कर्तव्यपरायण’ नेताको मन दुखाउन पनि भएको छैन। यस्तो अवस्थामा सर्वसम्मतिको प्राधिकार ओलीकै लागि गह्रुँगो बनेको छ। एउटालाई मौका दिँदा समान आकांक्षी अर्को भड्किने डर उत्तिकै छ। त्यसैलाई ध्यानमा राखेर केन्द्रीय कमिटीको शुक्रबारको अन्तिम बैठकमा ओलीले दुई उपाध्यक्ष र दुई उप–महासचिव थप्ने प्रस्ताव गरेका थिए। शनिबार हलले त्यसलाई पारित गरेको छ। अब एमालेको पदाधिकारी टोली निक्कै जम्बो अर्थात् १९ जनाको हुनेछ। साथै, विधान महाधिवेशनले हटाएको पोलिटब्युरोले पुनर्जीवन पाएको छ।
अब केन्द्रीय कमिटीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उप–महासचिव र ७ सचिव हुनेछन्। केन्द्रीय कमिटीलाई २ सय २५ बाट ३ सय १ सदस्यीय बनाइएको छ। स्थायी समिति ४५ र पोलिटब्युरो ९९ जनाको बनाउने तय भएको छ। ती पदमा नेताहरूलाई नरम–करम मिलाएर व्यवस्थापन गर्न सकिने ओलीको आँकलन छ।
ओलीले भने, ‘फेरि पालो आउँछ’
शनिबारको बन्दसत्रको सुरुमा विदेशी पाहुनालाई बोल्न दिइयो। तिनको सम्बोधनपछि अध्यक्ष ओलीले लामो निर्देशनात्मक भाषण गरे। बेलुका ७ बजे बल्ल उनको मन्तव्य सकियो।
बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटा व्यक्तिको मात्रै अस्वस्थ कुराले सिंगो पार्टी बदनाम, कलंकित हुने र छविमा आँच आउने भन्दै सहमतिसाथ नेतृत्व चयन गर्नुको विकल्प नरहेको धारणा राखे। उनले देशले एमालेलाई हेरिरहेको हुँदा गम्भीर भएर पार्टी एकताप्रतिकूल काम नगर्न सबैलाई आह्वान गरे। लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र नबुझ्न र पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न महाधिवेशन प्रतिनिधिहरूलाई चेतावनी दिए। अध्यक्ष ओलीले नेताहरूलाई हतारो नगर्न आग्रहसमेत गरे। ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’, ओलीले सम्बोधनमा भने, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ। तर, पार्टीको प्रतिष्ठा र खँदिलो एकतामा प्रभाव पर्ने कुरा नगरौं।’
उनले धेरै पद रहेकाले नेताहरूको व्यवस्था गर्न सक्ने आश्वासन पनि दिए। भने, ‘फेरि पालो आउँछ। सानो देश भए पनि यत्रा पालिकाहरू छन्, प्रदेशसभाहरू छन्, प्रतिनिधिसभा छ। अरू ठाउँहरू छन्। अहिले नभए फेरि आउला।’सिंगो देशले आफूहरूलाई हेरिरहेको भन्दै ओलीले हतारो गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ बनाउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘एउटाबाट मात्र पनि अस्वस्थ व्यवहार भयो भने सिंगो पार्टी बदनाम हुन्छ। कलंकित हुन्छ। छविमा आँच आउँछ।’ ओलीले उच्च समझदारीसाथ आफूलाई सहयोग गर्न आह्वान गरे। एकताबद्ध पार्टी अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरूले काँचो व्यवहार देखाउन नहुने बताए। ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएनन् भने हामीले सफलता प्राप्त गर्न सकौंला ?’ उनले प्रश्न गरे।
तैपनि मिलाउनै हम्मे
अध्यक्ष ओली विभिन्न पदका आकांक्षी वरिष्ठ नेताहरूसँग सहमतिका लागि बाक्लो संवादमा छन्। उनी एक–एक आकांक्षीसँग संवाद गरिरहेका छन्। अर्कातिर सहमतिको प्रयास भइरहेका बेला नेताहरू धमाधम उम्मेदवारी घोषणासमेत गरिरहेका छन्। वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङले दाबी गरेका छन्। स्रोतका अनुसार उनले आफ्नो उक्त अडान छाडेका छैनन्। महासचिव ईश्वर पोखरेलले उक्त पदमा अलि पहिलाबाटै आकांक्षा राख्दै आएका छन्। उम्मेदवारीकै हिसाबले भने उनले औपचारिक घोषणा गरेका छैनन्। उपाध्यक्ष ६ जना हुने व्यवस्था भएपछि आकांक्षी बढेका छन्। उपाध्यक्षमा घनश्याम भुसाल, लालबाबु पण्डित, देवराज घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन्। उपाध्यक्षमै वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ लाई पनि हेरिएको छ।
उपाध्यक्ष युवराज ज्ञवालीले आफू उम्मेदवारी घोषणा गर्नेभन्दा कसरी एकताबद्ध बनाउने भन्नेमा लागिरहेको स्पष्ट पारे। सहमतिमा सुरेन्द्र पाण्डेको पनि उपाध्यक्षमा सम्भावना छ। थप उपाध्यक्षमा विष्णु पौडेल (महासचिव नभएमा), भीम रावल (सहमतिमा आएमा) हुने सम्भावना छ। वर्तमान उपाध्यक्ष ज्ञवालीलाई भने कुनै आयोगको अध्यक्ष बनाइने देखिएको छ। पाण्डे नवौं महाधिवेशनमा आफू ६ मतले निर्वाचन हारेकाले न्यूनतम महासचिव नभए उपाध्यक्ष हुने आशय प्रकट गरिरहेका छन्। महाधिवेशन आयोजनामा खटिएका पाण्डेले महासचिव नपाए महत्वपूर्ण जिम्मेवारी पाउने देखिएको छ। महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ दाबी देखिएका छन्। तर, पौडेल वा पोखरेलमध्ये एकजना महासचिव हुने अध्यक्ष ओली निकट एक नेताले बताए। प्रत्यक्ष रूपमा उनीहरूले उम्मेदवारी घोषणा नगरे पनि आपूm निकट नेता कार्यकर्ता र सञ्चारमाध्यमबाट प्रचार–प्रसार गराइरहेका छन्। पौडेल महासचिव भएमा पोखरेल उपमहासचिव र पोखरेल महासचिव भएमा पौडेल उपाध्यक्ष हुने सम्भावना छ।
उपमहासचिव ३ बनाएपछि स्वत: नै आकांक्षी थपिएका छन्। पहिला उपमहासचिव पद एकमात्रै थियो। पृथ्वीसुब्बा गुरुङ अब उपमहाचिव हुने सम्भावना बढेको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपमहासचिव हुने करिब–करिब पक्का छ। गोकर्ण विष्ट संख्याका कारण सचिवमा नै दोहोर्याउने मनसायमा देखिएका थिए तर पद थपिएपछि उपमहासचिवमा दाबी गर्दैछन्। नवांै महाधिवेशनमा सचिवमा नै पराजित विष्णु रिमालले उपमहाचिवमा सोच बनाएका छन्। उपमहासचिवमा २ पुरुष र १ महिला पनि बनाउन सक्ने सम्भावना छ। विधानमा ७ सचिवको व्यवस्था गरिएको छ, तर सचिवका आकांक्षी धेरै छन्।सचिवमा अहिलेसम्म योगेश भट्टराई, महेश बस्नेत, यामलाल कँडेल, शेरधन राईलगायतले औपचारिक रूपमै उम्मेदवारी घोषणा गरिसकेका छन्। विधानमा ७ सचिवको व्यवस्था छ। जसमा हाल ज्ञवाली, भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, पृथ्वीसुब्बा छन्। सचिवमा आकांक्षीको ५ गुणा बढी छन्। बिधानमा नै समावेशी हुने स्पष्ट व्यवस्था भएको महिला, दलित, जनजाति, मधेसी लगायतलाई सचिवमा समेट्नु पर्ने बाध्यता छ।
त्यसका लागि दलितबाट छविलाल विश्वकर्मा, मधेसीबाट रघुवीर महासेठ, महिलाबाट पद्माकुमारी अर्याल, डा. शिवमाया तुम्बाहाम्फे, डा. विन्दा पाण्डे, राधा ज्ञवाली मध्येबाट आउनसक्ने स्थिति छ। पूर्वगृहमन्त्री खगराज अधिकारी, पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत सचिवका दाबेदारका रूपमा देखिएका छन्। रायमाझी, भट्टले उपाध्यक्ष नभए सचिवको आकांक्षा राखेका छन्। उनीहरूका अतिरिक्त सचिवमा धेरै नयाँ अनुहारले पनि दाबी गरेका छन्।
स्रोत : कान्तिपुर दैनिक।