• २०८१ चैत्र २ गते आइतवार
  • Preeti To Unicode

बन्दसत्रमा प्यानल पेस गर्दै ओली, शक्ति सन्तुलन मिलाउन सकस


नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित३०१केन्द्रीयसदस्य,तीनआयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित
गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले

नामावली प्रस्ताव गर्ने तयारी गरिएको बताइएको छ । ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् ।यद्यपि, अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसालले भने ओलीलाई नाम सिफारिसको अधिकार दिएकोमा आपत्ति जनाएका छन् । निर्वाचन छाडेर व्यक्तिलाई पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी दिँदा ‘लोकतन्त्रकै चीरहरण’ हुने उनीहरुको तर्क छ । अधिकांश प्रतिनिधिले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावमा ताली बजाउँदा रावल र भुसालले आपत्ति जनाएका थिए । यसले केहीबेर बन्दसत्रमा हंगामा नै भएको थियो । दुवैले आफ्नो उम्मेदवारी यथावत रहेको रातोपाटीलाई बताएका छन् ।​​त्यसैले अध्यक्ष ओलीले प्रस्ताव गर्ने नामावली सर्वसम्मति पास हुनेमा सकस देखिएको छ । ओलीले प्रस्ताव गरेको नाममा सहमति नभए, विवाद भएको सिटमा निर्वाचन हुनसक्ने देखिएको छ । संशाेधित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् ।

आन्तरिक लोकतन्त्रको चिरहरण भयो : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने पनि भुसालले जिकिर गरे ।

‘मेरो उम्मेदवारी उपाध्यक्षमा हो । मलाई उपाध्यक्ष बनाएर ल्याए भने एउटा कुरा हो । नत्र मेरो उम्मेदवारी दिने कुरामा आजको प्रस्तावले कुनै असर गर्दैन,’ भुसालले रातोपाटीसँग भने ।
एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार बिहान १० बजे पुनः सुरु हुने जनाइएको छ ।

बन्दसत्रमा के भनेका थिए भीम रावलले ?

नेकपा एमालेको बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव बन्दसत्रमा पेस गरेपछि हंगामा भएको छ । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावलले बैठक स्थलमा नै आपत्ति जनाएका थिए ।

पाँच घण्टा ढिला गरी सुरु भएको बन्दसत्रमा उपमहासचिव पौडेलले ताली पड्काएर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेपछि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका रावलले फरक मत राखे । पौडेलले प्रस्ताव पेस गरे लगत्तै मञ्चमा रहेका उपाध्यक्ष रावलले सो प्रस्ताव लोकतन्त्र विपरीत भएको बताए । यस्तो छ रावलले बैठकमा राखेको असहमति :

सहमतिको नाममा एमालेको बन्दसत्रमा हंगामा
नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव सर्वसम्मतिले पारित गर्न बन्दसत्रमा पेस गरेपछि हङ्गामा भएको हो । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले कडा आपत्ति जनाएका थिए ।
पार्टीको नवौँ केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले पदाधिकारी र सदस्यहरू थप गर्ने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । तर पाँच घण्टा ढिला गरी सुरु भएको बन्दसत्रमा उपमहासचिव पौडेलले ताली पड्काएर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेपछि हङ्गामा सुरु भयो ।

पौडेलले प्रस्ताव पेस गरे लगत्तै मञ्चमा रहेका उपाध्यक्ष रावलले आपत्ति जनाएका थिए । उनले यो लोकतन्त्र विपरीत कुरा रहेको बताउँदै यदि यसो गर्ने हो भने नेकपा एमालेले अब राज्यका कुनै पनि चुनावमा भाग नलिने र सबै सहमतिमा नै गर्ने निर्णय गर्नुपर्ने भन्दै कटाक्ष गरेका थिए । रावलले बोल्ने क्रममा फ्लोरबाट केही नेताहरूले हुटिङ पनि गरेका थिए । बैठकमा सहभागी एक नेताले रावलको भनाइ उद्धृत गर्दै भने, ‘हामीले महाधिवेशनमा अराजकता विरुद्ध लड्ने भनिरहेका छौँ । अहिले मैले आफ्ना कुरा राख्दै गर्दा हुटिङ गर्ने ?’ रावलको भनाइ पछि हुटिङ नेताहरू शान्त बनेका थिए ।

रावल आक्रोशित बनेको देखेर ईश्वर पोखरेलले स्थितिलाई सम्हाल्ने प्रयास गर्दै चुनाव नै नहुने नभनेको भन्दै सम्झाउन खोजेका थिए । ‘हामीले निर्वाचन नै नगरौँ भनेका होइनौँ, सकेसम्म सहमति गरौँ भनेका हौँ,’ पोखरेलले रावललाई भनेका थिए । त्यसपछि ओली पनि केही ब्याक हुँदै निर्वाचन नै नहुने नभनेको जिकिर गरेका थिए । विवाद बढेपछि मञ्चको तल रहेका घनश्याम भुसालले पनि निर्वाचन नै नभए आन्तरिक लोकतन्त्रको चीरहरण हुने बताउँदै आफ्ना असहमति राखेका थिए ।

कहाँबाट सुरु भयो विवाद ?
नेकपा एमालेले १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी गरे पनि विभिन्न पदमा निर्धारित सङ्ख्याभन्दा बढी आकाङ्क्षी देखिएको थियो । अझ भीम रावलले अध्यक्ष पदमा औपचारिकरुपमा उम्मेदवारीको घोषणा गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष बन्ने उद्देश्यमा धक्का लागेको थियो ।

यसबीचमा ओलीपक्षीय नेताहरूले पदाधिकारी र सदस्यहरूको सङ्ख्या थप गरे रावल र भुसाललाई पनि सहमतिमा ल्याउन सकिने आश्वासन ओलीलाई दिएका थिए । विष्णु पौडेल लगायत नेताहरूले गरेको यो प्रस्तावमा ओली सहमत पनि भए र शुक्रबार केन्द्रीय समितिको बैठकमा विधान संशोधनको प्रस्ताव अघि सारे ।

ओलीको यो प्रस्तावबाट उनीपक्षीय अन्य नेताहरू भने सन्तुष्ट थिएनन् । व्यक्तिलाई पद दिनकै लागि विधान संशोधन गर्दै जाने हो भने राम्रो सन्देश नजाने उनीहरुको भनाइ थियो । ओली पक्षका एक नेताले भने, पदाधिकारी थप्दा पनि सहमति भएन र चुनावमा जानुपर्यो भने यो विष्णु पौडेललगायत नेताहरुको असफलता हुनेछ ।
स्रोत : रातोपाटी

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार