• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ कार्तिक ११ गते आइतवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ कार्तिक ११ गते आइतवार तदनुसार ई. सं. २०२४ अक्टोबर २७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, चन्द्रास्त : दिउँसो ०१:३६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:३२ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) दशमी तिथि, बिहान ०७:३८ बजेसम्म, त्यसपछि एकादशी तिथि, मघा नक्षत्र, दिउँसो ०३:२३ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बिहान ०९:५४ बजेसम्म, त्यसपछि ब्रह्म योग , सुरुमा विष्टि÷भद्रा करण बिहान ०७:३८ बजेसम्म, त्यसपछि बब करण बेलुका ०८:२५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल÷भूमिलोक), आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर (बिहान ०७:३८ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:३४ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), धान्यच्छेदन (मुठी लिने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १२ गते : श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), १३ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), धनत्रयोदशी (धनतेरस पर्व), त्रिपुष्कर योग दिनको ११:०१ बजेसम्म, अन्तर्राष्ट्रिय इन्टरनेट दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)
१४ गते : यमपञ्चक प्रारम्भ, काग तिहार, काक बलि, यम दीपदान (मृत्युनिवारणको उद्देश्यले साँझमा घरबाहिर चारचोसे दियोमा बत्ती बाल्ने दिन), धन्वन्तरी जयन्ती, स्वान्तिचह्रे पूजा

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा केही बाधा आउनेछन्। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ। राेकिएका काममा दाेहाेर्याएर प्रयास गर्नुहाेला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आइपर्ने समस्याले दौडधुप गराउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले पनि सताउने सम्भावना छ। आफ्नाबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। पेसा–व्यवसायमा होसियारीसाथ लेनदेन गर्नुहोला। समय लागे पनि गरेकाे काममा आंशिक लाभ हुनेछ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। आकस्मिक यात्रा हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले सजिलै काम बन्नेछ र आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले रकम खर्च गराउन सक्छ। व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ढिलासुस्तीले काम राेकिन सक्छ। दाेहाेर्याएर प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ। तर दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले कामका चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। तर आफ्नैले काममा बाधा पुर्याउलान्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला। सावधानीले केही समस्या टर्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले काम राेक्नुपर्ने अवस्था पनि आउन सक्छ, भरसक वादविवाद नगर्नुहाेला। खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटाउने समय छ। प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने साइत जुर्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार