काठमाडौं: तीन दिनका लागि विकास कुमार मिश्र अफिसको कामले विराटनगर जाँदै थिए।छिटो र सहजै पुग्नु थियो त्यसैले रोजाई बन्यो हवाई यात्रा। बिहानै ललितपुर
को बालकुमारीस्थित कोठाबाट तयार भएर ८ नबज्दै उनी पुगे त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्ष। अघिल्लो दिन नै उनले बुद्ध एयरको टिकट लिएका थिए। विमानस्थल पुगेपछि
बोर्डिङ पासमा लेखिएको थियो – सिट नम्बर १७ ‘सी’।करिब साढे ८ बजेतिर उनी चढैको विमानले टेकअफ लियो। विकासलाई विराटनगर पुगेर सक्नुपर्ने काम सम्झिँदै थिए। केही समयमा नै उनी विराटनगरमाथिको आकासमा थिए। एकैक्षणमा उनी ल्यान्ड हुँदै थिए। तर, विमान अवतरण भएन। केही राउन्ड आकासमाथि नै फन्को मारिरह्यो।केही बेरपछि एयर होस्टेसले अनाउन्स गरिन्, ‘टेक्निकल समस्याले अवतरण गर्न सकिएको छैन। नआत्तिनु हुन अनुरोध छ।’विमानबाट नियमित यात्रा गर्नेहरूका एयर होस्टेसको अनाउन्समेन्ट कुनै नयाँ अनुभव थिएन। प्राविधिक कारणले कहिलेकाहीँ विमान अवतरण हुन नसकेका घटना धेरै हुने गर्छ नै। त्यसैले विकासलाई पनि खासै केही अनौठो अनुभूति भएन। तर, केही फन्का मारेपछि पनि विमान अवतरण हुने लक्षण देखेनन्। त्यसपछि त स्वभाविक रुपमा विमानभित्र हल्लाखल्ला हुन थाल्यो। किन अवतरण नभएको हो?
एयर होस्टेसले ‘अब यहाँ अवतरण नहुने भएकाले काठमाडौं नै फर्काउनुपर्ने भयो’ भन्नु भयो। काठमाडौंमा ठूलो धावन मार्ग भएकाले सजिलो हुन्छ भन्ने कुरा भयो,’ विकासले सुनाए।नभन्दै विमान जताबाट आएको थियो त्यतैतिर मोडियो। काठमाडौंमा पुगेर सहजै अवतरण होला भन्ने थियो किनकि उनीहरुले देख्ने र अनुभूति हुनेगरी कुनैखालको समस्या देखिएको थिएन। तर, जब काठमाडौंको विमानस्थल नजिकै विमान पुग्यो त्यसपछि भने उनको हंसले ठाउँ छोड्यो। विमानको झ्यालबाट हेर्दा तलतिर टन्नै सेना, प्रहरी, एम्बुलेन्स र दमकल देखियो। उनलाई लाग्यो – अब चाहिँ बाँचिदैन।’त्यो दृश्य देखेपछि अब चाहिँ बाचिँदैन भन्ने लाग्यो। सबै आशा मरेर आयो। विमानभित्र रुवाबासी नै चल्यो। हंसले ठाउँ छोड्यो,’ उनले अवतरणभन्दा केही अघिको अवस्था सम्झिए।
विमान अवतरण गर्ने धावनमार्ग नजिकै पुग्यो। तर, सोचेजस्तो अवतरण भएन। फेरि आकासतिरै अकासिन थाल्यो विमान। विमान बाहिर विकासले जे देखेका थिए ती दृश्यले होसहवास उडाउन थालिसकेको थियो। त्यसैले उनलाई झनै गाह्रो बनायो। विमानको ह्विल लक नखुलेको सङ्केत भएपछि विमान चालकले विराटनगरबाट फर्काएर बुद्ध एयरको विमान फर्काएर ल्याएका थिए। जुन काठमाडौं विमानस्थलमा अवतरण हुन खोजिरहेको थियो।विकास चढेको विमानमा उनी जस्तै अन्य ७३ जना थिए। उनीहरूको अवस्था पनि फरक थिएन। कोही रुँदै थिए त कोही भगवान् पुकार्दै। धेरैको मनबाट विकासको जस्तै बाँच्ने आशा मरेर गएको थियो। त्यसमाथि उनीहरूले एयर होस्टेसको आँखामा देखेको डर मनबोल गिर्नक लागि काफी थियो।
विराटनगरको आकासबाट फर्किँदा एयर होस्टेजले भनेको जस्तो सामान्य प्राविधि समस्या मात्र हो भन्ने कसैलाई पनि विश्वास भएन। झन्डै दुई घण्टासम्म आकासमा यताउता गरेपछि विमान गौचरणतिर झर्न थाल्यो। जतिजति विमान तलतिर झर्यो उनीहरूको मन चिसो हुँदै गयो। धन्न! विमान सहजै अवतरण भयो। एकाएक विकासलाई अर्को जीवन पाए झैँ अनुभूति भयो। कतिले भगवानलाई त कतिले दक्ष पाइलटलाई धन्यवाद दिए।
यात्रुको मात्र होइन एयर होस्टेससम्मको आखामा आँसु रसाए। केही अघि विमानमा हुँदा चिन्ता र भयले झरेको थियो आँशु। विमान ल्यान्ड भएपछि भने बाँचेको खुसीमा। विमानमा यात्रारत धेरैका परिवारले विमानको अवस्थाबारे थाहा पाइसकेका थिए समाचारबाट। त्यसैले छाँद हाल्दै विमानस्थलमा उनीहरु पुगेर व्यग्र प्रतीक्षामा थिए।’सबैले ताली बजायौँ। एकाएक खुशीको आँसु आयो। अर्को जीवन पाएको जस्तै भयो,’ विकासले खुशी साटे। त्यसपछि उनी विराटनगर नगई कोठातिरै फर्किए।
स्रोत : पहिलो पोस्ट।