• २०८१ कार्तिक २७ गते मङ्गलवार
  • Preeti To Unicode

सोमप्रसाद पाण्डे सहित एमालेका चार सांसदको पद धरापमा


नेकपाएमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ।मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले
सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका

संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ ।शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् ।आयोगले पछि परेको निवेदनमा सनाखत नगर्ने भनेपछि बुधबार यसबारे आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच केहीबेर गर्मागर्मी बहस भएको थियो । अन्ततः आयोगले उनीहरुलाई सनाखतमा सहभागी नगर्ने निर्णय सुनायो ।निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ । उनीहरु अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ ।

आयोगका एक पदाधिकारीले भने, ‘अब उहाँहरुलाई एमालेले कारवाही गरेन र मूल पार्टीमै रहनुभयो भने पद जाँदैन, नयाँ पार्टीमा लाग्ने हो भने सांसद पद गुम्छ ।तर, नेकपा एमालेले भने विहीबार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी चारजना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरुलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमालेका एक नेताले जानकारी दिए ।नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ । तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

तीन केन्द्रीय सदस्यको पनि सनाखत भएन
निर्वाचन आयोगले नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरुको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले बताए । केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत नगरेको हो । तर, उनीहरुलाई एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने ढोका भने खुल्लै छ ।उता, सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुन सक्ने ठाउँ सुरक्षित छ ।

सबै केन्द्रीय कमिटीका सदस्यहरु र सांसदलाई आयोगले मान्यता दिएको भए प्रतिशत अरु बढ्ने र सांसदमा पनि २० प्रतिशत कट्ने भन्दै नेपाल समूहका केही नेताहरुले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।उता, मूल पार्टी नेकपा एमालेले भने माधव नेपालसहितका १४ सांसदलाई समेत सनाखत नगर्न आयोगलाई दबाव दिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार