• २०८१ पुष ७ गते आइतवार
  • Preeti To Unicode

हजारौँले किन त्याग्दैछन् भारतको नागरिकता ?


काठमाडौँ । भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा एक लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन् । संसद्‍मा पेस गरिएको दस्तावेजमा उल्लेख भएअनुसार उनीहरूले ‘निजी कारण’ देखाएर नागरिकता त्याग्ने फैसला गरेका हुन् ।सबैभन्दा धेरै अर्थात् ७८ हजार २८४ जनाले अमेरिकी नागरिकताका लागि भारतको नागरिकता

त्यागेका छन् । त्यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलिया र २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन् ।चीनमा बस्दै आएका ३०० जनाले चिनियाँ नागरिकता लिएका छन् । यस्तै, ४१ जनाले पाकिस्तानको नागरिकता लिएका छन् । सन् २०२० मा भारतीय नागरिकता त्याग्नेको सङ्ख्या ८५ हजार २५६ थियो भने सन् २०१९ मा एक लाख ४४ हजार १७ जनाले नागरिकता त्यागेका थिए ।सन् २०१५ देखि २०२० का बीच ८ लाखभन्दा बढीले भारतीय नागरिकता त्यागेका छन् । सन् २०२० मा यो तथ्याङ्कमा केही कमी देखियो । कोरोना महामारीलाई यसको प्रमुख कारणका रूपमा लिइएको छ । विदेशी मामिलाका जानकार हर्ष पन्त भन्छन्, ‘गत वर्ष कोरोनाका कारण काम बन्द हुँदा विदेशको नागरिकता लिन नपाएकाहरूले अहिले नागरिकता पाएका कारण यस पटक यो तथ्याङ्कमा वृद्धि भएको हुन सक्छ ।’​

विदेशमा बस्नुका कयौँ फाइदा
अमेरिकामा बस्दै आएकी भावना (परिवर्तित नाम) का अनुसार भारतले आफ्नो नागरिकता छाड्ने दर या ‘ब्रेन ड्रेन’ लाई नियन्त्रण गर्ने हो भने कयौँ कदम चाल्न जरुरी हुन्छ । सुविधामा वृद्धिदेखि लिएर नयाँ अवसरको सिर्जना, दोहोरो नागरिकता जस्ता विषयमा विचार गर्न जरुरी रहेको उनको भनाइ छ ।भावना सन् २००३ मा अमेरिकामा रोजगारीका सिलसिलामा गएकी थिइन् । उनलाई अमेरिकामै बस्नु ठिक लाग्यो र उतै बस्ने निधो गरिन् । उनकी छोरी अमेरिकामै जन्मिइन् । त्यसपछि उनले ग्रीन कार्डका लागि आवेदन गरिन् । केही वर्षपछि उनले अमेरिकाको नागरिकता प्राप्त गरिन् ।भावना भन्छिन्, ‘यहाँ जीवन धेरै सहज छ । स्टेन्डर्ड अफ लिभिङ राम्रो छ । बच्चाहरूको पढाई राम्रो छ । उनीहरूले भारतको तुलनामा राम्रो अवसर पाउँछन् ।’यस अतिरिक्त कामका लागि पनि राम्रो वातावरण रहेको उनी बताउँछिन् । जति काम गरिन्छ, त्यस हिसाबले राम्रो पारिश्रमिक पाइने उनको भनाइ छ ।

‘वर्क प्लेस’ को माहौल
क्यानाडामा बस्दै आएका अभिनव आनन्दको भनाइ पनि भावनाको भनाइसँग मिल्दोजुल्दो छ । उनले क्यानाडामै अध्ययन गरे, विगत एक वर्षदेखि उनी त्यहीँ काम गर्न थालेका छन् । उनी अहिले पनि भारतीय राहदानी प्रयोग गरिरहेका छन् तर अब भारतीय नागरिकता त्याग्ने सोचमा पुगेका छन् ।काम गर्ने राम्रो वातावरणका कारण पनि उनी भारत फर्कन चाहँदैनन् । उनी भन्छन्, ‘यहाँ काम गर्ने समय निर्धारित छ, कार्यक्षेत्रमा नियम र कानुनको पालना हुन्छ । तपाई जति काम गर्नुहुन्छ, त्यही हिसाबले पैसा पाउनु हुन्छ । भारतमा नियम यति राम्रोसँग पालना हुँदैन । त्यसैले म भारत जान चाहन्न । मैले अरू देशमा काम गर्न हुन्छ भने त्यहाँको नागरिकता लिन के आपत्ति छ र ?’

हर्ष पन्तका अनुसार अधिकांश व्यक्ति राम्रो काम, पैसा र उत्कृष्ट जीवनको खोजीमा देश छाडेर जाने गरेका छन् ।उनले भने, ‘ठुला देशमा उत्कृष्ट सुविधा पाइन्छ तर कयौँ मानिस साना देशमा पनि जान्छन्, कयौँ साना देशले व्यापारका लागि राम्रो सुविधा दिने गरेका छन् । कयौँ मानिसका परिवार पनि त्यस्ता देशमा बसेका हुन्छन्, त्यसैले उनीहरू काम गर्न उतै जाने गरेका छन् ।’

भावनात्मक सम्बन्ध तर फाइदा कम
हरेन्द्र मिश्रा वरिष्ठ पत्रकार हुन् । उनी विगत २२ वर्षदेखि इजरायलमा बस्दै आएका छन् । उनका अनुसार भारतसँग भावनात्मक रूपमा यति जोडिएका छन् कि भारतको नागरिकता त्याग्न सकेका छैनन् । उनकी पत्नी इजरायली नागरिक हुन् । उनका सन्तान उतै जन्मिए । उनीहरूले उतैको नागरिकता लिएका छन् । तर मिश्राले भारतीय राहदानीका कारण धेरै समस्या झेल्नु परेको छ । अन्य देशमा जानका लागि उनले भिसा लिनु पर्छ ।

उनले भने, ‘मलाई लन्डन जानु परेमा भिसा आवश्यक पर्दछ । तर तपाईंसँग इजरायलको राहदानी छ भने तपाई भिसा बिना नै लन्डन जान सक्नुहुन्छ । त्यसैले भिसा आवेदन गर्नका लागि यहाँ कार्यालयसमेत छैन । भिसामा छाप लगाउनका लागि इस्तानबुल जानु पर्छ । त्यहाँ जानका लागि खर्च हुन्छ । यस्ता कुराले समस्या छ ।’

आफूले भारतको नागरिकता त्याग्न नचाहेको तर त्यसले कुनै फाइदा भने नभएको उनले बताए । भारतको राहदानी लिएर ६० देशमा भिसा बिना जान सकिने उल्लेख गर्दै उनले अरू देशको तुलनामा यो सङ्ख्या निकै कम भएको बताए । राहदानीको वरीयतामा भारत १९९ देशको सूचीमा ८७ नम्बरमा छ ।

दोहोरो नागरिकताको आवश्यकता ?
हरेन्द्र मिश्राका अनुसार भारतले दोहोरो नागरिकताको व्यवस्था गरेमा नागरिकता छाड्नेको सङ्ख्यामा कमी आउने छ । अभिनव आनन्द पनि भारतको नागरिकता त्याग्ने सोचमा छन् । यो आफ्नो बाध्यता भएको उनले बताए ।उनले भने, ‘म जहाँ जन्मिएँ, त्यहाँको नागरिकता मसँग हमेसा हुनुपर्छ तर भारत दोहोरो नागरिकताको अनुमति दिँदैन । त्यसैले मसँग त्यो नागरिकता त्याग्नुका अतिरिक्त विकल्प छैन । भारतले दोहोरो नागरिकताको सुविधा नदिएकै कारण भारतीय नागरिकता त्याग्नेको सङ्ख्या धेरै छ ।’ भावनाले पनि भारतीय नागरिकता त्यागिसकेकी छन् । उनीसँग ‘ओसीआई’ कार्ड छ । तर उनी योभन्दा राम्रो दोहोरो नागरिकता भइदिएको भए हुन्थ्यो भन्ने ठान्छिन् ।

के हो ओसीआई कार्ड ?
भारतमा दोहोरो नागरिकताको प्रावधान छैन । भारतीय नागरिकले अर्को देशको नागरिकता लिन चाहेमा भारतको नागरिकता त्याग्नु पर्दछ । विदेशमा बस्दै आएका र त्यहाँको नागरिकता लिएका भारतीय नागरिकका लागि एउटा खास सुविधाको नाम हो ओसीआई कार्ड अर्थात् ‘ओभरसिज सिटिजन अफ इन्डिया’ ।

विश्वका कयौँ मुलुकमा दोहोरो नागरिकताको सुविधा छ । तर भारतीय नागरिकता कानुन अनुसार यदि कुनै व्यक्तिले अन्य देशको नागरिकता लिएमा उसले भारतीय नागरिकता त्याग्नु पर्दछ । अमेरिका, बेलायत, क्यानाडाको नागरिकता लिएका लाखौं नागरिकको भावनात्मक सम्बन्ध अझै भारतसँग छ । उनीहरूले भारतको नागरिकता त्यागेपछि अब भारत आउनका लागि भिसा लिनु पर्दछ । यस्तै मानिसको सुविधाका लागि भारतले सन् २००३ मा ‘पीआइओ’ कार्ड अर्थात् ‘पर्सन अफ इन्डियन ओरिजन’को प्रावधान राखेको थियो । यो कार्ड राहदानीजस्तै १० वर्षका लागि जारी गरिन्छ ।

त्यसपछि भारत सरकारले प्रवासी भारतीय दिवसका अवसरमा सन् २००६ मा हैदरावादमा ओसीआई कार्ड दिने घोषणा ग¥यो । लामो समयसम्म पीआइसो र ओसीआई कार्ड दुवै चलाइयो । सन् २०१५ मा सरकारले ओसीआई कार्ड जारी राख्दै पीआइओको प्रावधान अन्त्य गर्ने घोषणा ग¥यो ।ओसीआई एक प्रकारले भारतमा जीवनभर बस्न सक्ने, काम गर्न र सबै प्रकारका आर्थिक लेनदेन गर्ने सुविधा हो । यो कार्ड धारक व्यक्ति आफूले चाहेको समयमा भिसा बिना नै भारत आउन सक्छ । यो कार्ड उसको जीवनभरका लागि मान्य हुन्छ ।

यी कार्ड धारक व्यक्तिले चार वटा अधिकार पाउँदैनन् । उनीहरूले चुनावमा उम्मेदवार हुन पाउँदैनन्, मतदान गर्न पाउँदैनन्, सरकारी जागिर र संवैधानिक पदमा बस्न पाउँदैनन् र खेती गर्ने जमिन खरिद गर्न पाउँदैनन् ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार