• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने प्रचण्डको दाबी


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम साझा भएको दाबी गरेका छन्। प्रधानमन्त्री बन्दा पुस १० मा बनेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को र राष्ट्रपतिको चुनावपछि बनेको नेपाली कांग्रेस – माओवादी गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई समेत समेटेर नीति कार्यक्रम बनेकाले सबैको साझा भएको प्रचण्डको तर्क छ।

‘यो नीति कार्यक्रम तयार पार्दै गर्दा दुईवटा गठबन्धन म प्रधानमन्त्री बनेपछि बने। पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा कार्यक्रम भनेर घोषणा गरिएको थियो। दोस्रो, गठबन्धनले फेरि पहिलो गठबन्धनको साझा कार्यक्रमलाई ध्यानमा राखेर अर्को कार्यक्रम तयार पार्‍यो,’ उनले भने। उनले अहिलेको अवस्था दुर्लभ भएको उल्लेख गर्दै सत्ता पक्षमा र प्रतिपक्षमा भए पनि साझा नीति कार्यक्रम सामूहिक रुपमा बनाएको बताए। ‘एक्स्ट्रिममा गएर बिरोध गर्नुपर्ने पनि म देख्दिनँ। एक्सट्रिममा गएर समर्थन गर्नुपर्ने पनि म देख्दिनँ,’ प्रचण्डले भने।

सत्ता पक्ष र प्रतिपक्षको धारणा समेटेर नीति कार्यक्रम तयार भएको उनले बताए। उनले आफू सत्ता पक्ष र प्रतिपक्षले स्वीकरेको प्रधानमन्त्री भएको दाबी गरे। ‘म सत्ता पक्षले र प्रतिपक्षले स्वीकारेको प्रधानमन्त्री हुँ। यस्तो प्रधानमन्त्री त सतिमिति भेटिदैन,’ उनले भने,’ नेपालको इतिहासमा मौलिकता भेटिएको छ।’

उनले आफूले पहिलो पटक विश्वासको मत लिँदा सय प्रतिशतको विश्वासको मत पाएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटकको विश्वासको मतका बेलामा तपाईँको प्रस्तुति ऐतिहासिक भनेर प्रशंसा गरेको समेत प्रचण्डले बताए।

उनले नीति कार्यक्रम साझा प्रयासबाट कार्यान्वयन हुने बताएका छन्। उनले नीति कार्यक्रममा राष्ट्रिय आकांक्षा प्रतिविम्बित भएको बताए। उनले ओलीले नीति तथा कार्यक्रम गन्तव्यहीन भन्नु तर्कसँगत नभएको जवाफ दिए। ओलीले प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डि भएको टिप्पणी गरेका थिए।

सरकारको गन्तव्य प्रष्टसँग आएको भन्दै प्रचण्डले रणनीति पनि कार्यक्रममा अटाएको बताए। उनले महत्वंकाक्षी योजना ल्याउनु व्यवहारिक नहुने भएकाले अहिले परिस्थिति अनुसारको सरकारको कार्यक्रम बनेको बताए। ‘यो नीति कार्यक्रम कल्पनाको पुलिन्दा होइन। कार्यान्वयन योग्य र प्राथमिकता दिएका बिषयको सूची पनि हो,’ उनले भने।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार