काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफूहरुलाई पार्टीको सदस्यबाट निस्कासन गरियो भन्नु हास्यास्पद भएको बताएका
छन्। एमाले स्थायी कमिटीको निर्णयपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । रावल ले यो फुटवादको निरन्तरता भएको समेत बताएका छन्।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’
उनले ट्वीटमा भनेका छन्।सोमबार बसेको एमालेको स्थायी समिति बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ नेतालाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।
बैठकले नेपाल खनालसहित नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो।
पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 24, 2021