• २०८१ भाद्र २४ गते सोमवार
  • Preeti To Unicode

एमाले बैठक : खनाल नेपाललाई पार्टी सदस्यबाटै निष्काशन, थप १२ जना नेतालाई स्पष्टीकरण


नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई

पार्टीबाट निष्काशन गरेको हो ।स्रोतका अनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।

नेकपा एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ,

घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।सोमबारकै बैठकले वरिष्ठ नेताहरु माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गर्ने विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार त्यसबारे छलफल भएपनि निर्णय हुन बाँकी रहेको र अर्को बैठकले निर्णय गर्नेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार