काठमाडौं । एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने भएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज(बुधबार) सकिँदैछ । माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर
जवाफ दिने तयारी भइरहेको छ ।एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाएका थिए ।
स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरु भने सहभागी थिएनन् ।
तर, नेता भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । ‘मनपरी ढंगले केन्द्रीय कमिटीमा मानिसहरु थपघट गर्ने, विधानका धाराहरु कुल्चँदै बैठक बसेर निर्णय गरेँ भन्ने कुरा अवैध र स्वेच्छाचारी छ’ रावलले रातोपाटीसँग भने, ‘त्यस्तो नक्कली कमिटीको के अर्थ रहन्छ ?’
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।