• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले महाधिवेशन : अब सबै पदमा निर्वाचन हुने


काठमाडौंसोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो।अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या
देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन

प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूची छ ।स्थायी कमिटी बैठक स्थगित हुँदा एमालेमा सोमबार अध्यक्ष ओली सम्मिलित भएर शुक्रबार चितवनमा शुरू हुने १०औं महाधिवेशनसम्बन्धी कुनै निर्णय हुन सकेन । जबकी आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेकाले ओलीको गतिविधि आमचासो थियो । तर यसअघि जस्तै ओली मौन रहे भने एमाले पंक्तिको सन्नाटा कायमै रह्यो । ‘भीम रावलको उम्मेद्वारी घोषणाले परिस्थिति नै अलग हुन पुगेको छ’, ओली निकट स्रोत भन्छ ।ओली यो महाधिवेशनबाट निर्विरोध अध्यक्ष दोहोरिन चाहन्थे । उनी निकट नेताहरूले समेत निर्विरोध नेतृत्व चयनको दावी गरिरहेका थिए । तर रावलको उम्मेद्वारी घोषणाले निर्विरोध अध्यक्ष बन्ने ओलीको चाहना खण्डित हुन पुगेको छ । ‘भीम रावलसँग अध्यक्ष कमरेडले धेरै कुरा गर्नुभएको हो । सहमतिको प्रयत्न पनि भएकै हो, तर उहाँ (रावल) अगाडि बढ्नुभयो’, ओली निकट एक नेता भन्छन् ।

ती नेताका अनुसार, अध्यक्ष पदमै निर्विरोध नहुने भएपछि ओलीको मनस्थिति बदलिएको छ । ‘अब सायद सबै पदमा निर्वाचन हुन्छ होला । अध्यक्षमै निर्विरोध नहुने भएपछि बाँकी पदहरुमा सहमति भनेर किन नेताहरुको मन दुखाउने ?’, ती नेता भन्छन् । जबकी ओलीलाई निरन्तर साथ दिएका नेताहरू मात्रै नभएर माओवादीबाट आएका र १० बुँदे पक्षधर कतिपय नेताहरू समेत ओलीको संकेत पर्खेर बसिरहेका छन् ।ओलीले स्वयंमले पनि महाधिवेशन प्रतिनिधि छनोटका लागि चुनाव हुनु अघिल्ल्लो दिन २६ कात्तिकमा भिडियो सन्देश जारी गरी उच्च स्तरको सहमतिबाट प्रतिनिधि चयन र नेतृत्व निर्माणमा जोड दिन निर्देशन दिएका थिए । त्यही कारण पदाधिकारीका आकांक्षी नेताहरूले आफ्नो आकांक्षा सार्वजनिक गर्न सकेका छैनन् । ओलीको समर्थन नपाए सहमति वा मतदान दुवै अवस्थामा उम्मेद्वारी घोषणाको अर्थ नहुने बुझाइका कारण नेताहरुले आफ्नो आकांक्षा सार्वजनिक नगरेका हुन् ।

तर रावलको उम्मेद्वारी घोषणासँगै अध्यक्ष ओली स्वयं सबै पदको छिनोफानो मतदानबाट गर्ने मनस्थितिमा पुगेको उनी निकट अर्का नेता बताउँछन् । ‘पद थोरै छ । आकांक्षी नेताहरुको व्यवस्थापन सजिलो छैन । यसको विकल्प निर्वाचन नै हो’, ती नेता भन्छन् । एमालेले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । तर कुनैपनि पदमा तीन भन्दा बढीले आकांक्षा राखेका छन् ।मुख्यगरी बरिष्ठ उपाध्यक्ष र महासचिव पदमा धेरै आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादीबाट आएका रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्ष बन्ने चाहनामा छन् । प्रत्यक्ष/परोक्ष रुपमा ओलीलाई उनीहरुले आफ्नो चाहना राखेका छन् ।

अध्यक्षपछि दोस्रो कार्यकारी पद महासचिवमा पनि आकांक्षी संख्या धेरै छन् । उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र शंकर पोखरेलले महासचिव बन्ने चाहना राखेका छन् । माओवादीबाट आएका र १० बुँदे पक्षधर नेताहरूलाई सम्मानजनक हैसियत (पद) दिंदै सहमति जुटाउन सजिलो छैन ।‘भीम कमरेडले उम्मेद्वारी फिर्ता लिएर निर्विरोध हुने अवस्था आउँदा अर्कै कुरा हो । तर अब सहमति भनेर अध्यक्ष कमरेडले चुनौती लिने अवस्था नहोला ’, बालकोट स्रोत भन्छ । रावललाई मनाएर कुनै पद दिंदा १० बुँदे गरी एमालेमै बसेका अन्य नेता मनाउन नसकिने, अनि आफ्ना निकट र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन समेत कठिन बन्ने हुँदा ओली निर्वाचनको मनस्थितिमा पुगेको ती स्रोत बताउँछन् ।

बरु निर्वाचनको प्रक्रियाबाट पदाधिकारी चयन हुँदा नेताहरुको व्यवस्थापन सजिलो हुने भएकाले पनि मतदानको विकल्प नै उचित हुने कतिपय नेताहरुको समेत बुझाइ छ । संसदीय दलका उपनेता नेम्वाङ पनि निर्वाचनबाट नेतृत्व चयनको संभावना बढी देख्छन् । ‘सर्वसहमतिले नेतृत्व चयन अत्यन्तै राम्रो हो । तर भीम कमरेडको डिटेलमा आइसकेको छ । अब निर्वाचनको विकल्पमा गइन्न भन्ने देख्दिनँ’, नेम्वाङ भन्छन् ।तर मतदानबाट नेतृत्व चयन गर्दा माओवादीबाट आएका र १० बुँदे पक्षधर नेताहरु नेतृत्वमा आउने सम्भावना कम रहेकाले पनि सहमतिमा जोड दिन ओलीर्लाइ उनी निकट नेताहरुले सुझाव दिइरहेका छन् । बरू आवश्यक पर्दा पदाधिकारी संख्या बढाउनुपर्ने उनीहरुको राय छ । १५–१७ असोजमा सम्पन्न विधान महाधिवेशनले पास गरेको विधानमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था छ ।

‘मतदानमा जाँदा राम्रो सन्देश जाँदैन । बरु आवश्यक परे पदाधिकारी संख्या अझै बढाउन उपयुक्त हुन्छ भनेर अध्यक्ष कमरेडलाई भनेका छौं’, एक स्थायी कमिटी सदस्य भन्छन् । एमाले विरुद्ध पाँच दलीय गठबन्धन बनेको र पार्टीभित्र भावनात्मक एकताको खाँचो भएकाले पनि मतदानमा जान उपयुक्त नहुने ती नेता बताउँछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार