• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

लडाइँको मैदान छाड्दिनँ, पार्टी पनि फुटाउँदिनँ : माधव नेपाल


काठमाडौं।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि

उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे । मंगलबार आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले कुनैपनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहेपनि अध्यक्ष ओली त्यसविपरीत हिँडेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए । केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ । उनी कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौँ, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी अ‍ोली हुन्’, नेपालको दावी छ ।

उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विद्यार्थीहरुलाई पढ्नु हुदैन भनेर सिकाउने गरेको पनि बताए ।उनले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह गरे । उनले केपी ओलीले खराव कुरामात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही छ । केपी ओलीले विद्यार्थीले पढ्नु हुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौ’, नेता नेपालले भने, ‘ फरक भनेकै यही हो ।’

नेता नेपालले नेपालको राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र राजादेखि गिरिजाप्रसाद कोइरालासँग समेत आफूले राजनीतिक सहमति गरेको फेहरिस्त सुनाउनै बाँकी रहेको बताए । उनले बाधा पन्छाउँदै नदी अघि बढे जसरी आफू अघि बढ्ने भन्दै आफू पछिल्लो अवस्थाबाट कुनै हालतमा विचलित नभएको बताए ।

केपी ओलीले राजावादीसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउँदै नेपालले राजतन्त्र कुनै हालतमा फर्कन नदिने प्रतिवद्धता पनि जनाए । उनले राष्ट्रिय राजनीतिको नाडी समाउन नसक्ने पार्टीहरू इतिहासमा सीमित हुने भन्दै कतिपय देशमा कम्युनिस्ट पार्टीहरु पनि अवशान भएको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार