एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशन का लागि अध्यक्ष पद मा उम्मेदवारी दिने घोषणा गरे सँगै उप-महासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको
तयारी गरेका छन् । निकट स्रोत का अनुसार भुसालले आफ्ना पक्ष का नेता कार्यकर्ता हरू सँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही
नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ । ‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले रातोपाटीसँग भने, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’ती नेताका अनुसार भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ । ‘अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएकाले अब वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमध्ये एक पदमा उम्मेदवारी दिने पक्का छ’, ती नेताका अनुसार भुसालको यस्तो तयारीपछि अध्यक्ष ओलीले भुसाललाई बालकोटमा भेट्न बोलाएका छन् ।
‘बालकोटबाट भेटघाटका लागि खबर आएको छ । तर उहाँ जानुभएको छैन । त्यहाँ गएर नमस्कार गर्नुबाहेक अरु उपलब्धि नहुने भएपछि उहाँले चासो दिनुभएको छैन’, भुसाल निकटस्थहरुको भनाई छ । एमाले महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा १५ पदाधिकारी सर्वसम्मत चयन गर्ने अध्यक्ष ओलीको चाहना छ ।अध्यक्षमा आफैं दोहोरिने चाहाना राखेका ओलीले सबै पदमा सहमति खोज्ने प्रयास गरेपनि ओली समूहमै आकांक्षी धेरै भएपछि निर्वाचन हुने लगभग निश्चित भएको छ । १९९९ महाधिवेशन प्रतिनिधि रहने भनिएको एमाले महाधिवेशनमा अधिकांश ओली पक्षबाट चयन भएका छन् । रावल र भुसाल समूहका झण्डै ४ सय महाधिवेशन प्रतिनिधि चयन भएको उनीहरुको आन्तरिक मूल्याङ्कन छ ।
सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन
चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मंसिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।
यस्तै मंसिर ११ र १२ गते चितवनको सौराहामा हुने महाधिवेशनको बन्द सत्रमा भने ५ सय स्वयंसेवक परिचालन गरिनेछ । बन्द सत्रमा पार्टीको नेतृत्व र महाधिवेशन प्रतिनिधि गरेर २२ सय हाराहारी मात्रैको उपस्थिति हुने भएकोले स्वयंसेवकको संख्या कम हुने संयोजक श्रेष्ठले रातोपाटीलाई बताए ।
यस्तै महाधिवेशन अवधिमा नेता तथा कार्यकर्ताको सुरक्षाका लागि गोप्य स्वयंसेवक परिचालन गरिने उनले बताए । उनले भने–‘महाधिवेशनको अवधिमा कहाँ–कहाँ केके भइरहेको छ, त्यसबारे सूचनाका लागि हामीसँग ‘अनसिन’ स्वयंसेवकहरु पनि छन् । हामीले त्यसमा सुरक्षा विज्ञहरुलाई पनि समावेश गरेका छौँ ।’
संयोजक श्रेष्ठले सुरक्षाका लागि सुरक्षाकर्मीसँग पनि सहकार्य गर्ने र गोप्य रुपमा आन्तरिक स्वयंसेवक पनि राख्ने जानकारी दिए । महाधिवेशनका लागि पार्टीको विभिन्न भातृ संगठनबाट स्वयंसेवक तयार पारिने श्रेष्ठले बताए ।
हेर्नुहोस भिडियो :
स्रोत : रातोपाटी।