• २०८१ बैशाख ७ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट १५० किलोमिटर गुड्ने गाडी


काठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढीदुरी चल्न सक्ने गाडी बनाएका छन्। मेकानिकल
इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १ जना गरी ९ जना विद्यार्थी मिलेर उक्त गाडी बनाएका हुन् ।एक वर्ष लगाएर उनीहरूले उक्त गाडी बनाएका हुन्

। सुमन पाठक, विवेक बराल, अभिषेक सुवेदी, सुमन तिमिल्सिना लगायतका विद्यार्थीहरूले एक वर्ष लगाएर उक्त गाडी बनाएका हुन् । त्यसका लागि एसोसिएटेट प्रोफेसर हरी ढकालले सहजीकरण गरिदिएका थिए । हुन त सन् २०१९ देखि नै यो गाडी बनाउन थालिएको थियो । अहिलेका विद्यार्थीहरूले नयाँ नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । उनीहरूले मोडिफाइ गर्दा २ लाख ५० हजार रूपैयाँ जति खर्च गरेका छन् । गाडी बनाउँदा अहिलेसम्म लेवर खर्च बाहेक ६ लाख रूपैयाँ जति खर्च भइसकेको छ । ‘सिनियर दाइहरुले बनाउनुभएको थियो । अहिले हामीले त्यसैलाई मोडिफाई गरेका हौं । यसलाई मोडिफाई गरेर बढी माइलेज दिन सकिने बनाएका हौं,’ सुमनले भने । यो गाडीलाई उनीहरूले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘सेल इको म्याराथन’ मा सहभागी हुन बनाएका हुन् ।

इण्डोनेशियामा ११–१५ अक्टोबरमा हुने प्रतियोगिताका लागि उक्त गाडीसहित नेपालबाट प्रतिनिधित्व गर्न लागेको सुमनको भनाइ छ । त्यहाँ लैजानको लागि उनीहरूलाई आर्थिक अभाव देखिएको छ । अहिले विभिन्न निकायबाट आर्थिक सहयोग लिइरहेका छन् । ‘म्याराथनमा प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा इण्डोनेशियामा लैजान्छौं । तर, अहिले सिपमेन्टको खर्च एकदम महंगो भएकाले गाडी लैजान समस्या देखिएको छ । नेपालबाट लगेर म्याराथनमा सहभागी भएर पुनः नेपाल ल्याउन १२ हजार ४०० डलर खर्च लाग्नेछ,’ सुमनले भने ।

त्यसमा उनीहरू जान आउन छुट्टै खर्च लाग्नेछ । त्यसका लागि अहिले विभिन्न निकायबाट सहयोग संकलन गर्ने काम भइरहेको उनको भनाइ छ । एकदम महँगो भएकाले आफ्नै खर्चमा गाडी लैजान सकिने अवस्था नरहेको उनको भनाइ छ । उक्त गाडीको ढुवानी र टिकटका लागि आर्थिक सहयोग गरिदिने स्पोन्सरहरूको खोजी कार्य भइरहेको भए पनि पर्याप्त मात्रामा रकम उठ्न नसकेको उनको भनाइ छ । ‘अहिलेसम्म काठमाडौं विश्वविद्यालय र अन्यबाट गरेर सहयोग गरेका छन् । त्यो पनि अपुग नै छ । अझै ६ लाख जति अपुग छ । सहयोग आउने क्रम जारी छ,’ सुमनले भने ।

उक्त म्याराथनमा तीन समूहका गाडीले भाग लिन पाउँछन् । हाइड्रोजन, पेट्रोल र ब्याट्रीबाट चल्ने गरी तीन समूहका गाडीले प्रतियोगितामा भाग लिन पाउने उनको भनाइ छ । पेट्रोलबाट चल्ने धेरै माइलेज दिने उक्त गाडी नेपालमा पहिलो भएको सुमनको दाबी छ । यो गाडी बनाएपछि यतिबेला उनीहरूलाई थुप्रै खालका प्रश्न आइरहेका छन् । जसमा नेपालको रोडमा चलाउन सानो भयो ? व्यापारिक प्रयोजनको लागि आउँछ कि आउँदैन ? जस्ता प्रश्न उनीहरूलाई आइरहेका छन् । ‘यसमा कम्पिटिसनको आफ्नै डिजाइन हुन्छ । मापदण्ड तोकिएको हुन्छ । त्यही अनुसार बनाउनुपर्छ । रिड बुक हुन्छ त्यसैलाई फ्लो गरेर बनाउँदा यस्तै आकारमा आएको हो,’ सुमनले भने । यो गाडीमा १ जना मात्र बस्न मिल्छ । यदि आवश्यक परेको खण्डमा बजारीकरण गर्नका लागि ठूलो गाडी बनाउन सकिने उनको भनाइ छ ।

‘अहिले त हामीले म्याराथनको लागि भनेर बनाएका हौं । आवश्यक प¥यो भने ४÷५ जना बस्न मिल्ने र अन्य प्रयोजनको लागि पनि बनाउन सकिन्छ,’ सुमनले भने । उक्त गाडीलाई सन् २०१९ देखि नै बनाउन थालिएको थियो । त्यो बेलाका मेकानिकल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूले बनाएका थिए । त्यही गाडीलाई अहिलेका विद्यार्थीहरूले माडिफाई गरेर थपस्तरीय बनाएका हुन् । सन् २०१९ मा मलेसियामा आयोजना भएको ‘सेल इको म्याराथन एसिया २०१९’ मा समेत उक्त गाडी लगिएको थियो ।

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले केयू १.० नामक प्रोटोटाइप भेइकल डिजाइन गरेका थिए । केयू १.० मा ५० सीसी फोर स्ट्रोक ग्यासोलिन इन्जिन थियो । तर, त्यो बेला कुनै पनि अवार्ड जित्न सकेको थिएन । त्यही भेइकललाई मोडिफाई गरेर थप गुणस्तरीय बनाइएकाले यस पटक अवार्ड जितेर आउनेमा टिम आशावादी छ । उक्त गाडीमा उच्च माइलेजका लागि आधुनिक इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (ईएफआई) तथा थोरै सीसी प्रयोग गरिएको छ । सन् नेपालबाट पहिलो पटक केयूको टिम जुनकिरी सहभागी भएको थियो । यसका लागि डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले वर्ष दिन भन्दा बढी समय लगाएर प्रोटोटाइप भेइकल तयार पारेका थिए । टिम जुनकिरीमा डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. डेनियल तुलाधरसहित टिम म्यानेजर सागर थापा, मिलन पाठक, नितेश यादव, इशान ताम्राकार, मदन क्षेत्री लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार