• २०८१ कार्तिक २८ गते बुधवार
  • Preeti To Unicode

कांग्रेसको निर्णयले झस्काएको छ, फेरि नेकपा ब्युँतिन सक्छ: माधव नेपाल


नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समिति को निर्णयबाट आफूहरू झस्केको बताएका छन्।कांग्रेसको गत सोमबार
सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।‘गठबन्धनमा रहेका दलहरू

का बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ। साथै तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ साउन २ मा सकिएको कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको थियो।कांग्रेसको यही निर्णयले आफूहरू झस्केको अध्यक्ष नेपाल बताउँछन्। कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको नेपाल बताउँछन्।

‘खासगरी नेपाली कांग्रेसको बैठकबाट जुन किसिमको मूल्यांकन आयो यसले हामीलाई अलि शशंकित बनायो,’ इमेज टिभीको हट सिटका लागि पत्रकार जगदीश खरेललाई बिहीबार दिएको अन्तर्वार्तामा अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँहरूले आफूलाई ६०/७० प्रतिशत सिट चाहिने अनि अरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ।’कांग्रेसले जतिसुकै दाबा गरे पनि यति धेरै सिट एक्लै जित्न नसक्ने अध्यक्ष नेपालले बताएका छन्। ‘चुनावमा कांग्रेसका कुन-कुन नेता सुरक्षित छन् भन्न सकिँदैन,’ उनले भने।

उनले तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यबीच छलफल पनि अघि बढेको प्रसंग निकालेका थिए।‘समाजवादी केन्द्र बन्ने कुरा ५ जनाको बैठकले तय गर्न सक्दैन। तर पार्टी निर्माण गर्न सक्छ। नेकपाका पाँच जना सचिवालय सदस्यले अग्रसरता लिने कि, नेकपालाई ब्युँझाउने वा नयाँ शीराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कि भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘चुनावमा मोर्चा बनाएर जान सकिन्छ कि, पार्टीलाई एकीकृत बनाएर लैजान सकिन्छ कि, एकताको कुन स्वरूप वा ढाँचा अबलम्बन जाँदा उपयुक्त हुन्छ भन्नेबारे हाम्रोबीचमा छलफल सुरू भएको छ।’उनले कांग्रेसले एक्लाएक्लै उठ्दा धेरै सिट जितिने सोचे पनि राजनीतिमा त्यस्तो नहुने बताएका थिए। ‘राजनीतिमा सबैले हैसियत बढाउन अनेक उपाय सोचेका हुन सक्छन्। अनेक तरिका अपाउन सक्छन्। कांग्रेसले पनि अरूको भावनाको कदर गरेर जानुपर्ने होला नि,’ उनले भने।

कांग्रेसको निर्णयबाट झस्कने अवस्था सिर्जना भएको अध्यक्ष नेपाल बताउँछन्।‘कांग्रेसको निर्णयबाट अवस्य पनि झस्किने स्थिति बनाएको छ,’ उनले भने, ‘भाग लिए लिनुस् नलिए नलिनुस् भने के होला हालत? सबैको आफ्नो हैसियत छ। हामी पनि दाबा गरौंला- २८ प्रतिशत उम्मेदवार खडा गरेर ९ लाख मत आएको छ।’नेपालको राजनीतिमा आफ्नो भूमिकाको खोजी गर्न तत्कालीन नेकपाका पाँच सचिवालय सदस्य बैठक बसेको उनले बताए।नेकपाले अलम्बन गरेका विचार र धारणा २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादका मूल मर्म र भावनालाई सम्मान र आत्मसाथ गर्ने भन्नेबारे प्रश्न उठे पनि त्यसतर्फ भने आफूहरूले छलफल सुरू गरिनसकेको उनले बताए।

उनले नेपालका कम्युनिष्ट र वामशक्तिलाई एकता गर्ने जिम्मेवारी आफूहरूको रहेको बताएका छन्। चुनाव आइसकेकोले छिटो यसबारे छलफल गर्नुपर्नेमा अध्यक्ष नेपाल छन्।‘कांग्रेसलाई सबक सिकाउनुपर्ने केही छैन। तर कांग्रेसको निर्णयले म पनि झस्केको छु,’ अध्यक्ष नेपालले भने, ‘हामीले धेरै आशा गरेका थियौं। कांग्रेसले अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने थियो। तर स्थानीय चुनावमा ७७ जिल्लामा हाम्रो प्रतिनिधित्व होस् भन्ने चाहेका थियौं तर पोखरा महानगरमा केन्द्रित रहेर चुनावी बहस भयो। चार हजार मत आउँदैन भनेका थिए, हामीले जित्यौं।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार