• २०८१ असोज २८ गते सोमवार
  • Preeti To Unicode

प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिएको पतञ्जलिको ‘टेलिभिजन’मा प्रसारण विभागको छड्के


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनबारे अध्ययन गर्न सरकारले समिति बनाएको छ ।प्रसारण
अनुमतिपत्र र पूर्वप्र सारण अनुमति समेत नलिएको टेलिभिजन उद्घाटन गर्न प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसमेत पुगेको सार्वजनिक

भएपछि सूचना तथा प्रसारण विभागले अध्ययन समिति बनाएको हो ।भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको छ । मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार नै सरकारको अध्ययन समितिले आकस्मिक निरीक्षण गरेको छ ।विभागका निर्देशकको संयोजकत्वमा बनेको ४ सदस्यीय समितिले टेलिभिजनको उद्घाटन भएको स्थानमै पुगेर वास्तविकताबारे जानकारी लिएको हो । सो टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रियासम्म थालेको छैन । विभागका महानिर्देशक गोगनबहादुर हमालले सञ्चारमाध्यममा अनुमतिविना टेलिभिजन प्रसारण हुन लागेको खबर आएपछि त्यसबारे बुझ्न समिति बनाइएको बताए ।

‘समितिले अनुसन्धान गरेर प्रतिवेदन दिन्छ,’ उनले भने, ‘समितिले आवश्यक अध्ययन गरेर सिफारिस गरेअनुसार निर्णय लिन्छौं ।’यदि अनुमतिपत्र विना नै प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ । भवन मात्रै उद्घाटन भएको भए त्यसलाई कानुन विपरीत भन्न नसकिने छानविन समितिका एक सदस्यले बताए ।‘हामीले हेर्दा प्रधानमन्त्रीलाई टेलिभिजनको उद्घाटन भनेर झुक्याएर लगेको देखिन्छ,’ उनले भने, ‘टेलिभिजनको लागि कुनै उपकरण त्यहाँ भेटिएको छैन, अनुमति लिने प्रक्रियाको थालनी पनि भएको छैन, थप बुझ्दैछाैं । ‘

बोल्यो पतञ्जलि
टेलिभिजनबारे विवाद भएपछि पतञ्जलि योगपीठ नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै पतञ्जलि र आस्था टेलिभिजन च्यानल प्रसारणमा आइनसकेको स्पष्टीकरण दिएको छ ।
पतञ्जलिका आइटी इन्चार्ज सन्दीप वाल्मिकीले जारी गरेको विज्ञप्तिमा असोज ८ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी प्रमाणीकरण लिएर प्रसारणको अनुमति लिने प्रक्रिया सुरु भएको दावी गरेका छन् ।

तत्कालका लागि योगगुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा शुभसाइतका लागि टेलिभिजनको कार्यालय भवनको मात्र उद्घाटन गरिएको योगपीठको दावी छ ।
नियमानुसार अनुमति लिएपछि मात्र नेपालका नीति, नियम र कानुनअनुसार टेलिभिजन सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार