• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

बागमतीमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँ ले आधा-आधा समय सरकारको नेतृत्व गर्ने


बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि

प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।‘गठबन्धनका शीर्ष नेताहरुबीच काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने तयारी छ’, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए ।प्रमुख सचेतक माझीका अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने
बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।यद्यपि, मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको स्रोत बताउँछ । स्रोतका अनुसार एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजिरहेका कारण आज बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु गर्ने तर मतदानका लागि भने केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको छ ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले प्रदेशसभा आह्वान भएपछि उपस्थित नहुने भन्ने कुरा नै नआउने बताए । ‘संसद् आफैमा स्वतन्त्र हुन्छ, कुनै दलको लागि संसद्को बैठक सार्ने भन्ने कुरा पनि हुँदैन,’ उनले भने, ‘दलले आग्रह गर्ने कुरा हो । हाम्रो तर्फबाट एमालेका प्रमुख सचेतक दिपक निरौलाले प्रस्ताव राख्नु भएको हो तर बस्ने तय भएको बैठकमा नजाने भन्ने कुरा हुँदैन । हाम्रा उपलब्ध भएका सबै सांसद आजको बैठकमा उपस्थित हुनुहुन्छ ।’

उनले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले नै पेस गरेको भन्दै आजको बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताए । मत विभाजनबारे भने संसद्ले नै टुङ्ग्याउने उनको भनाइ छ । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारे ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार