• २०८१ चैत्र ८ गते शनिवार
  • Preeti To Unicode

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।अभद्र व्यवहार
सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी

कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताए । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन् । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा भनिएको छ ।संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।

पुरानै विवाद
अहिले उनी प्रहरी हिरासतमा पुग्नुको कारण चाहिँ पुरानो साथी खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरी हो ।झापाको बिर्तामोड–१०, बिर्ताबजार घर भएकी संग्रौला र उनको चिनजान एक साहित्यिक कार्यक्रममा इलाम गएका वेला भएको थियो । संग्रौला स्नातकोत्तर सकेपछि काठमाडौंतिर आइन्, जापान पुगिन् । खुश्बु पनि काठमाडौं आइन् र एमालेको भातृ संगठन युवा संघमा आवद्ध भइन् ।संग्रौलाले फेसबुकमा पार्टी गतिविधिको कडा आलोचना गरेपछि घिमिरेले प्रतिवाद गर्न थालिन् । संग्रौला सात महीनाअघि जापान छाडेर काठमाडौं आएपछि दुई जना सामाजिक सञ्जालमा झन् आरोप प्रत्यारोपमा उत्रिए ।घिमिरेले व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउँदै ज्वालाविरुद्ध स्टाटस लेखिन् । त्यसपछि यो विवाद प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो ।

गौशाला डीएसपी जितेन्द्र बस्नेतले १६ जेठमा छलफल गराउँदै गर्दा ज्वालाको समूहले घिमिरेमाथि कुटपिट गर्‍यो । ज्वालासँगै काम गरेका एक व्यक्ति भन्छन्, ‘फेसबुकमा लेखेको विषयको कानूनी उपचार खोज्नुपर्थ्यो, कुटपिट गर्नु गलत भयो ।’साइबर अपराधको कसूरमा आकर्षित हुने घटनामा प्रहरीले दुवै पक्षलाई छलफल गराएर मिलापत्र गरायो । दुवैको कुरा मिलेपछि घटना पनि सामसुम भयो । तर महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पुनः सतहमा आयो । प्रहरीले अनुसन्धान थाल्यो ।

रंगभेदी अभिव्यक्तिमाथि पनि छानविन हुने
अघिल्लो साता मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो सार्वजनिक भयो, जसमा रंगभेदी शब्द प्रयोग गरेर प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई अपमान गरिएको थियो ।संग्रौलाले प्रहरीलाई सुरुवातमा नाम सोधेकी थिइन् । नाम सुनेपछि उनले भनेकी थिइन्, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाउ, खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन ।’ उनले प्रहरीको सरुवा गरिदिने पनि धम्की दिइन् ।यही अभिव्यक्तिपछि सामाजिक सञ्जालमा संग्रौलालाई कारबाही गर्नुपर्ने माग उठ्न थाल्यो । ज्वालाले त्यो अभिव्यक्ति दिएको केही दिनमै झाको बग्गिखानामा काज सरुवा भयो । यद्यपि प्रहरी अधिकृतहरु भने त्यसवेलासम्म घटनाबारे थाहा नभएको र त्यो संयोग मात्र भएको दाबी गर्छन् ।

घटनामा मधेशी आयोगले पनि चासो देखायो, प्रहरी प्रधान कार्यालयलाई पनि छानविन सुरु गर्न भन्यो । त्यहीवेला पुरानो घटना सार्वजनिक भएपछि त्यसैको जाहेरीका आधारमा प्रहरीले ज्वालासहितको समूहलाई पक्राउ गरेको हो ।अहिले असई झालाई पनि जाहेरी दिन भनिएको छ । उनको जाहेरी परेपछि संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूरसहित रंगभेदी अभिव्यक्ति दिएको अभियोगमा पनि अनुसन्धान हुनेछ ।

यसैबीच, घिमिरेको तर्फबाट प्रहरी कार्यालय पुगेका युवा संघका दुई कार्यकर्ताले प्रहरीकै सामुन्ने संग्रौलालाई पनि पिटेका छन् । प्रहरीकै अगाडि कुटपिटमा संलग्न भएपछि सुजन खत्री र सुमन चित्रकारलाई पनि नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी सिंह बताउँछन् ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार