• २०८० फाल्गुन ११ गते शुक्रवार
  • Preeti To Unicode

यी नेता जसको साथ देउवालाई, समर्थन ओलीतिर !


काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुई पक्षले दावी
प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश गरेका छन् भने काँग्रेस सभापति

शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् ।निलम्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ ।केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका कारण यो अवस्था देखिएको छ । ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गरेका छन् भने उक्त पार्टीका माधवकुमार नेपालसहितका नेताहरु देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।

अर्कोतिर जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।

शीतल निवास स्रोतका अनुसार एमाले संसदीय दलको नेताका हैसियतले ओलीले आफ्ना १२१ सांसदकै समर्थन रहेको दावी गर्नु स्वाभाविक हो । अर्कोतिर जसपाका संसदीय दलका नेता एवं अध्यक्षले नै आफ्ना ३२ सांसदको समर्थन ओलीको पक्षमा जनाइसकेको अवस्थामा पार्टीका आधिकारिक व्यक्तिले

जनाएको प्रतिबद्धतामा शंका गर्नुपर्ने आधार नरहेको स्रोत बताउँछ । ‘यद्यपि यसबारे अन्तिम निर्णय राष्ट्रपतिज्यूले नै गर्ने भएकाले हामीले यसबारे धेरै टिप्पणी गर्न उचित हुँदैन,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार